‘असहायको सेवा नै सच्चा मानव सेवा’
झापा । ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुवात गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गरे । आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा कोशी प्रदेशभरका सहयोगापेक्षी सडक मानवको उद्धार गरी विराटनगरस्थित आश्रममा राखिने भएको छ ।
फाउन्डेशनकी अध्यक्ष डोल्माले असहायको सेवा नै सच्चा मानव सेवा भएको जनाउँदै अभियानमा जोडिन पाउनु जीवनकै सबैभन्दा राम्रो कर्म भएको बताए । मेचीनगरका नगरप्रमुख बुढाथोकीले कोही पनि नागरिकले सडकमा कष्टपूर्वक जीवन बिताउनु नपरोस् भनेर मानव सेवा आश्रमले विगतदेखि गरिरहेको प्रयासको सराहना गर्दै यस कार्यमा नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मुलुकका ४६ जिल्लामा उद्धार यात्रा सञ्चालन हुने जानकारी दिए ।
झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले सडक मानवको उद्धार अभियानमा नेपाल प्रहरीले आवश्यक सुरक्षा र सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् भने विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले सडकमा अलपत्र जीवन बिताइरहेका मानवको उद्धारमा सबै पक्षको सहयोग र चासो हुनुपर्ने बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष अधिकारीका अनुसार आज झापास्थित पूर्वपश्चिम राजमार्ग र वरपरका सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धार गरिने छ ।
यस कार्यका लागि आश्रम र आनी छोइङ डोल्मा प्रतिष्ठानमा आबद्ध स्वयंसेवक परिचालन हुनेछ । प्रहरी टोली, एम्बुलेन्स र स्यवंसेवकको प्रयोग गरेर सडक मानवको उद्धार गरिने र बसोबासका लागि विराटनगर लगिने उनले जानकारी दिए । विगतमा पनि मानव सेवा आश्रमले सडक मानवको उद्धार अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया