भक्तपुरको ब्रम्हायणीमा पाँगो माटो लिनेको घुइँचो

भक्तपुर । भक्तपुरको ब्रम्हायणीमा आइतबार बिहानैदेखि माटो लिनेको घुइँचो लागेको छ । हरेक वर्ष नौ रातको पहिलो दिन ब्रम्हायणीमा पाँगो माटो लिनेको भीड लाग्ने नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक बालकृष्ण बनमालाले बताए ।
हरेक वर्ष जस्तै यस वर्ष पनि निओ फ्युजन ओपन रेन्जर क्रु र ख्वपरिंग ओपन रेन्जर क्रुको संयुक्त आयोजनामा पाँगो माटो वितरण गरेको प्रशिक्षक बनमालाले बताए ।
मेलामा आउने भक्तजनहरूले घरघरमा जमरा राख्नको लागि पाँगो माटो लिएर जाने भएका कारण सहज बनाउने हेतुले यो कार्य गर्दै आएको बनमाला सुनाउँछन् । यसको लागि करिब सय जना स्काउट परिचाल गरिएको उनले जानकारी दिए । प्रत्येक वर्ष दसैँको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा लाग्ने गर्दछ ।
परम्परा अनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन द्धिदीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्थी अर्थात् चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौँ दिन इन्द्रायणी, सप्तमी सातौँ दिन महाकाली, महाअष्टमी आठौँ दिन महालक्ष्मी, महानवमी नवौँ दिन त्रिपुरा सुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरी ब्रम्हायणीमा मेला लाग्ने गर्छ । अन्तिम दिन ब्रम्हायणीमा ठुलो मेला लाग्ने गर्छ नवरातको क्रममा बालकालकादेखि बृद्धबृद्धासम्म सहभागी हुने गर्दछन् ।




प्रतिक्रिया