१२ लाख राजस्व संकलन, २८ हजारलाई सचेतना

नेपालखोज २०८० कार्तिक १ गते १९:५२

कर्णाली । ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा रु १२ लाख राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु ५० हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात हजार सात सय ९६, सल्यानले पाँच हजार छ सय २२, दैलेखले तीन हजार आठ सय, कालीकोटले तीन हजार ६२, रुकुमपश्चिमले दुई हजार नौ सय ७०, जुम्लाले दुई हजार ११, जाजरकोटले एक हजार चार सय ५९, मुगुले छ सय ९२, डोल्पाले चार सय ३५ र हुम्लाले तीन सय ३२ जनालाई ट्राफिक सचेतना गराएको उनले बताए ।

असोज २४ गतेदेखि सञ्चालन भएको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । ‘६८औँ प्रहरी दिवस–२०८०’ को अवसर नेपाल प्रहरीको ब्याण्ड प्रदर्शनपश्चात् उक्त सप्ताहको समापन मङ्गलबार साँझ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गरेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया