खसीबोका बिक्री भएनन्

बेदकोट । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।
परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ, जोगबुढाका किसान जिते धामीले भने, आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।
चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । भारतबाट सहजै खसीबोका आउँछन्, नेपाली बजारमा तिनै खसीबोका बेचिन्छन्, उनले भने, बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलमोलाइ बढी गर्छन्, मोल नै पाउँदैनौँ ।
गत असोज ३० गते उहाँले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए । तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामी बताउछन् ।
खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्, उनले भने, केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ । परशुरामबाट नौजना किसानले एक सय ५० खसीबोका बिक्रीका लागि महेन्द्रनगगर पुर्याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ ।
महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे । अहिले भीनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसीबोका राख्ने ठाउँ छैन, उनले भने, त्यसैले समस्या छ, ठाउँ उपलब्ध गराए त्यसबापतको पैसा तिर्न पनि तयार थियौँ ।

प्रतिक्रिया