काठमाडौंका सडक प्राय: सुनसान

काठमाडौं । बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधन पातलिएका छन् । स्थानीयहरू घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौं बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरू आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।
घटस्थापनादेखि नै मानिसहरू काठमाडौंबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए ।
नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी साधनलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।

प्रतिक्रिया