कानुन तर्जुमाका लागि सुझाव पेस गर्न समिति गठन

नेपालखोज २०८० कार्तिक १० गते २०:४९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो ।

प्रदेश र स्थानीय तहले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन बनाउँदा कतिपय अवस्थामा अधिकार, जिम्मेवारी र कार्यक्षेत्र खप्टिने, निर्माण गरिएका कानुन कार्यविधि कार्यान्वयन गर्न असहजता हुने, अन्तर तह र निकाय ठाडो र क्षितिजीय समन्वय र सहकार्य गर्न कठिनाइ हुने तथा कतिपय अवस्थामा एक–अर्का कानुनबीच तादम्यता कायम हुन नसकी जटिलता सिर्जनासमेत भएका विषयमा त्यस्ता कानुन कार्यविधि तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि र निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ ।

प्रतिक्रिया