माछापुच्छ्रेको पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

अन्नपूर्ण (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो ।
गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए ।
स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।
यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो ।
प्रतिक्रिया