द्रुत बस सेवा तिहारपछि पुन: सञ्चालन हुने

नेपालखोज २०८० कार्तिक १३ गते २०:४५

काठमाडौं । दसैंपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ । दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए ।

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात ब्यवसायीले त्यसको अनुभव लिएका छन् ।

सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन् । द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताए । सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया