प्यालेस्टिनी (फिलिस्टिनी) सिक्का

कहिले काँही प्यालेस्टाइन राज्यको बारेमा सोच्दा केही दुख लागेर आँउछ । राम्ररी स्वतन्त्रताको अनुभूती लामो समय कहिल्यै गर्न पाएन । सयौ वर्ष अगाडी पनि कहिले पर्सिया, कहिले ग्रीक, कहिले रोमन, कहिले इजिप्ट कहिले बेबिलोन साम्राज्य भित्र रहेको यो भूभाग पन्ध्रौ शताव्दी पछि करिव ४०० (१५१७-१९१७) वर्ष अटोमन साम्राज्यमा रहेको थियो ।
पहिलो विश्व युद्धको समाप्ति संगै ब्रिटिस साम्राज्य भित्र रहन बाध्य भयो । दोश्रो विश्व युद्ध पछि यो भूभाग दुइ भागमा बिभक्त भयो । एकातर्फ इजरायलको जन्म भयो । अर्को भाग अरब राज्यको हिस्सा बन्यो ।
फेरी प्यालेस्टिनीहरु आफ्नै देशमा शरणार्थीको रुपमा रहन बाध्य भयो । इजरायलको कुटनीतिक दमनले प्यालेस्टिनीहरु आतंकवादी पनि बन्न बाध्य भए । केवल आफ्नो राज्य स्वतन्त्र बनाउने चाहमा जे पनि गर्न तैयार भए ।
यी प्यालेस्टाइनीहरुको सबैभन्दा ठूलो शत्रु नै इजरायल बन्यो । जन्मदै बच्चाहरु इजरायल प्रति घृणा गर्न थाल्दथे । राष्ट्रविहिन राष्ट्रपतिको रुपमा यासिर अराफात निकै समय रहे । सन २०१२ मा संयुक्त राष्ट्र संघले स्वतन्त्र राज्यको मान्यता दियो । तर पनि इजरायल र प्यालेस्टाइनको द्वन्द रोकिएको छैन ।
यो प्यालेस्टिनी सिक्का सन् १९३९ मा ब्रिटिस अधिनस्थ रहदा निकालिएको हो । यो सिक्काको पनि आफ्नै महत्व छ । बिचमा प्वाल रहेको यो १० मिल्सको सिक्का हो । १००० मिल्सको १ प्यालेस्टाइन पाउण्ड हुन्थ्यो । ५०० मिल्सदेखिका नोट छापिन्थ्यो तने १०० मिल्स सम्मका सिक्का छापिन्थे ।
सन १९४६ सम्म प्यालेस्टाइनी सिक्का निष्कासित भएको थियो भने १९४७ मा छापिएका सिक्का सबै निष्काशन नगरि सबै पगालिएको थियो । त्यसपछि प्यालेस्टाइनको आफ्नै मुद्रा छापिएन । अहिले प्यालेस्टाइनमा जोर्डनको डिनार र इजिप्टको पाउण्ड चल्ने गर्दछ ।
यसको एकातर्फ अरवी, हिब्रु र अंग्रेजीमा १० मिल्स लेखिएको छ भने अर्को तर्फ अरवी, हिब्रु र अंग्रेजीमा प्यालेस्टाइन लेखिएको छ । साथै अंग्रेजी तथा अंग्रेजी र अरवीमा मिती १९३९ लेखिएको छ । हेब्रु भाषाको प्यालेस्टाइन פלשתינה को अगाडी (א”י) लेखिएको छ जसको अर्थ इजरायली भूभाग हो ।
यो मेरो संग्रहमा रहेको बिदेशी सिक्का हो । १९२७ देखी १९४७ बिच अत्यधिक संख्यामा निकालिएको भए पनि यो सिक्काको आफ्नै महत्व रहेको छ ।
प्रतिक्रिया