जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन शुरू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ ।
बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका हुन ।
अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिनसंचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए । अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित रहेका थिए ।
जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ । परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ ।
इन्स्योरेन्स रेगुलटेरी म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (आईआरएमआईएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्साम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र आईआरएमआईएस बाट नै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
प्रतिक्रिया