शनिबार, मंसिर २७, २०८२

जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिङ्केन जापानमा

नेपालखोज २०८० कार्तिक २१ गते १२:३३

टोक्यो । जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मङ्गलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन जापान आइपुगेका छन् ।

बैठकमा इजराइल–हमास युद्धको विषयले प्रमुख वर्चश्व पाउने अपेक्षा गरिएको छ । मध्यपूर्वको अतिशीघ्र भ्रमणपछि टोक्यामा दुई दिवसीय बैठकका लागि पुगेका उनले कुनै सार्वजनिक टिप्पणी गरेका छैन ।

हमासका लडाकूहरूले अक्टोबर ७ मा गाजापट्टीबाट इजराइलतर्फ गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएपछि इजराइली सेनाले त्यसयता गाजामा निरन्तर बमबारी गर्दै आएको छ । इजराइलको हमलामा चार हजारभन्दा बढी बालबालिकासहित मर्नेहरूको सङ्ख्या गाजामा १० हजार नाघेको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घसहित थुप्रै देशले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरिरहेका छन् । इजराइलको प्रमुख सहयोगी अमेरिकाले ती आग्रहलाई समर्थन गरेको छैन । उसले इजराइललाई जवाफ दिने अधिकार भएकामा जोड दिएको छ । यद्यपि अमेरिकाले युद्ध रोक्न आह्वान गरेको छ ।

सोमबार टर्कीमा विदेशमन्त्री ब्लिङ्केनले युद्धमा फसेका नागरिकहरूको सहयोगका लागि वासिङ्टनले अत्यन्त आक्रामक तरिकाले काम गरिरहेको बताएका थिए । कुनै विवरण उल्लेख नगरी उनले भने, ‘आगामी दिनमा सहयोग उल्लेखनीयरूपमा बढ्न सक्छ भन्ने मलाई लागेको छ ।’

जी–७ मा अमेरिका, जापान, फ्रान्स, बेलायत, इटाली, जर्मन र क्यानाडाका मन्त्रीहरू युक्रेनमा सङ्घर्षका साथै चीनसँगको सम्बन्धका बारेमा पनि विचारविमर्श गर्न तयार रहेका छन् ।

प्रतिक्रिया