पत्रकार महासंघको विज्ञप्तिका नाममा भ्रम फैलाउनेप्रति कान्तिपुर पब्लिकेसनको ध्यानाकर्षण

काठमाडौं । पत्रकार महासंघको विज्ञप्तिका नाममा भ्रम फैलाउनेप्रति कान्तिपुर पब्लिकेसनले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल पत्रकार महासंघको विज्ञप्तिका नाममा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेकामा कान्तिपुर पब्लिकेसनको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
पब्लिकेसको भनाइ निम्न बुँदामा रहेको छ :
१. आर्थिक मन्दीबाट ग्रसित देश र सञ्चार उद्योगको विषम परिवेशअनुसार पब्लिकेशन्स्ले समग्र वित्तीय पुनरावलोकन गर्नुपरेकाले जनशक्तिको आकार पनि सीमित गर्न खोजेको हो । यस क्रममा नेपाल पत्रकार महासंघ, कान्तिपुर शाखाले राखेका सरोकारका विषयमा चरणबद्ध संवाद गरी भएको सहमतिका आधारमा संस्थाले आर्थिक प्याकेजसहितको स्वैच्छिक अवकाश आह्वान गरेको हो । संस्थाले दिएको समयसीमाभित्र उल्लेख्य संख्यामा सञ्चारकर्मीहरूको राजीनामा आएको छ ।
२. माग र आपूर्तिको सिद्धान्तअनुसार जनशक्ति घटबढ गर्नु तथा आवश्यकताका आधारमा सरुवा गर्न पाउनु व्यावसायिक अधिकार हो भने त्यस क्रममा कानुनको परिपालना गर्नु आफ्नो दायित्व हो भन्नेमा पब्लिकेशन्स् स्पष्ट छ । जीवन्त संस्थामा यो क्रम निरन्तर जारी रहन्छ । त्यसको मापदण्ड तय गर्दा पहिलो प्राथमिकता आपसी समझदारी हो भने त्यसको विकल्प कानुनी मार्ग हो । यी वैधानिक मार्गबाहेक कुनै पनि तेस्रो पक्षको गैरव्यावसायिक दबाबसँग सम्झौता गर्न पब्लिेशसन्स् किञ्चित् तयार छैन/तयार हुनेछैन ।
३. तीन दशकभन्दा लामो व्यावसायिक पत्रकारिताको दौरानमा कान्तिपुर पब्लिकेशन्स्ले यस्ता अनेक मोडको सामना गर्दै आएको छ । यस पटक वित्तीय बेथिति र सुन तस्करीमा लिप्त समूहका विषयमा कान्तिपुरले प्रकाशन गरेका समाचारबाट आक्रोशित समूहले पत्रकार महासंघको ब्यानर दुरुपयोग गरेकामा सबैको ध्यानाकर्षण भएको होला भन्नेमा पब्लिकेशन्स् विश्वस्त छ । कतिसम्म भने, व्यवस्थापन र पत्रकार महासंघ प्रतिष्ठान शाखाबीच संवाद भइरहेका बेला वार्ता भाँड्ने उद्देश्यले महासंघको केन्द्रबाट चरणबद्ध विज्ञप्ति जारी भइरहेका थिए भने सहमति भएको अर्को दिन नै आन्दोलन घोषणा हुनुले पनि सबै विषय स्पष्ट पारेको छ । पत्रकारहरूको हितमा संवाद र सहमति गर्ने शाखालाई निलम्बन गर्ने हर्कतबाट पनि महासंघ अहिले कस्तो समूहको नियन्त्रणमा छ भन्ने छर्लंग भएको छ ।
४. पत्रकार महासंघको नेतृत्वले पटकपटक विज्ञप्ति जारी गर्दै कान्तिपुरले ८२ जना सञ्चारकर्मीलाई कारबाही गरेको दाबी गरेर आफ्नै विश्वसनीयता गुमाएको छ । महासंघले दाबी गरेकोमध्ये आधा संख्या मात्र पनि पुष्टि गर्न पब्लिकेशन्स् महासंघ नेतृत्वलाई चुनौती दिन्छ । बरु, आन्दोलनमा गएका पत्रकारलाई समेत सधैं झैं खाइपाइ आएको दसैं पेस्कीसमेत प्रदान गरिएको छ । आफ्नो केही सरोकार भए संवाद वा कानुनी बाटो छाडेर निहित उद्देश्यले संस्थाको बदनाम गर्ने, गेटमा जम्मा भएर कर्मशील पत्रकार तथा कर्मचारीलाई काममा अवरोध गर्ने प्रवृत्ति अविलम्ब नरोकिए सम्बन्धित सबैलाई प्रचलित कानुनअनुसार कारबाही गर्न तथा त्यस्तो कार्यमा उक्साउने समूहविरुद्ध आवश्यक कानुनी उपचार खोज्न संस्था बाध्य हुनेछ ।
अन्त्यमा, भ्रष्टाचार, तस्करीलगायत बेथितिसँग कुनै पनि सम्झौता हुनेछैन भन्ने कान्तिपुर पब्लिकेशन्स् पुनः स्पष्ट पार्न चाहन्छ ।
प्रतिक्रिया