शनिबार, जेठ ४, २०८२

को हुन पुतली बाजे ?

सुनिल उलक २०८० कार्तिक २२ गते ११:४०

वि.सं. १९९३ मङ्सिर ९ गते लन्डन नजिकै जन्मनु भएका कलिन फिलिप स्मिथलाई पोखराले निकै प्रभावित पारेको थियो । टोलिङ्गटन ग्रामर स्कुल, मुस्वेल हिल, लन्डनमा स्कुले शिक्षा लिएका उनी २०१५ को असोजमा युनिभर्सिटी कलेज, लन्डनबाट गणित विषयमा एम. एस्सी. गरेका थिए ।

पढाइ पुरा गरे लगत्तै उनले ग्लास्गो युनिभर्सिटीमा गणित विषय पढाउन थाले । चार वर्षको अध्यापन पछि मिसनरी कलेजहरूमा पढाउन थाले । यसरी मिसनरीको नजिक पुगेका उनलाई मिसनरी कै एक संस्था युनाइटेड मिसन टु नेपालले पोखरामा खोल्न लागेको स्कुलमा पढाउन निमन्त्रणा गर्‍यो ।

वि.सं. २०२२ को माघमा पोखरा आइपुगेका उनी केही महिना स्कुल स्थापनाको तैयारीमा सहयोग गरिरहे । नेपाली आदर्श विद्यालय वास्तवमा लामा चौरकै अमला बिसौनी अर्थात् पानी टङ्की नजिकै खोल्न खोजिएको थियो । यूएमएनका प्रतिनिधिले ठाउँ निकै सानो भएको भने पछि हालको स्थान लामा चौरमा खोलियो । कलिन सर नेपाली आदर्श विद्यालयमा गणित र विज्ञान विषय पढाउनको लागी चुनिएका थिए ।

३-४ महिनाको बसाइ पछि अन्तत जेठ २९, २०२३ मा ४५ विद्यार्थी छात्रावासमा बस्ने र स्थानीय सहयोगीका १२ विद्यार्थीलाई निःशुल्क पढाउने गरी विद्यालय उद्घाटन भयो । श्रीमती मार्था मुखिया सुरुको प्रिन्सिपल बने भने उनी शिक्षकको रूपमा पढाउन थाले । स्कुल सञ्चालनको लागी स्थानीय जनता, साइनिङ हस्पिटल तथा युनाइटेड मिसन टु नेपाल बिच समन्वय भएको थियो ।

मार्थाको साथ २ वर्ष नेपाली आदर्श स्कुलमा पढाए पछि उनी र युएमएन बिच सम्बन्धमा व्यवधान आयो । यूएमएनले उनलाई पढाइ मात्र होइन धर्म प्रचार गर्न पनि अनुरोध गरे । तर यो कुरामा अस्वीकार गर्दै उनले म आफ्नो धर्म परिवर्तन गर्दिन अरूलाई पनि धर्म परिवर्तन गर्न लगाउँदिन, भनेपछि उनको भिसा थप्न सहयोग गरेन । जसले गर्दा बाध्य भएर स्वदेश फर्किए ।

लन्डन फर्किएको करिब ६ महिना पछि पुन युएमएन ले नै गोरखा, लुइँटेलमा खुलेको अमर ज्योति स्कुलमा पठायो । त्यहाँ चार वर्ष जति पढाए, यही स्कुलमा उनका विद्यार्थी थिए, बाबुराम भट्टराई र उपेन्द्र देवकोटा । उनीहरूलाई कक्षा ९ मा पढाएका थिए । यसपछि कलिन सर काठमाडौ आनन्द कुटीमा पुगे पढाउनको लागी । आनन्द कुटीमा केही समय पढाए पछि उनको शिक्षण पेसामा अचानक ब्रेक लाग्यो ।

उनीको काका Uncle Bob (Arnold Turner) पुतली सङ्ग्रह गर्दै हिँड्थे । कलिन सानै हुँदा उनको काकाको पुतलीको सङ्ग्रह भएको दराज देखेका थिए । रङ्गी बिरङ्गी पुतली देखेर उनी निकै खुसी भएका थिए । १३ वर्षको हुँदा स्काउटबाट जङ्गल घुम्न जाँदा जङ्गलमा धेरै पुतली देखे पछि उनको पुतलीसङ प्रेम बस्यो र पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे । यस पछि पढाइले गर्दा उनीको आफ्नो सौख पुरा गर्न पाएनन् ।

पोखरामा रहँदा उनको भेट पिसकोर भोलेन्टियर डोरो थी मिरोसंग भएको थियो । डोरो थी म्युजियम बनाउने धुनमा थिए, दुई जनाको कुरा मिल्यो, कलिन सरले डोरोथीको म्युजियममा पुतली सङ्ग्रह गरी राखिदिने । यसरी उनले पोखरामा भेटिएका केही पुतली सङ्ग्रह गर्न थाले । यसपछि कलिन सर गोरखा पुगे, फेरी काठमाडौं स्वयम्भूमा रहेको आनन्द कुटीमा पुगे । यहाँ रहदा कलिन सरको सौखको चर्चा शायद त्रिभुवन विश्व विद्यालयमा पुगेको थियो होला ।

त्यसैले जूलोजीका प्रोफेसर डी. आर. उप्रेतीले एक दिन आफ्नो अफिस कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान सङ्ग्रहालय (Natural History Museum) को लागी किट विज्ञान सङ्ग्रहालय बनाउन आग्रह गरे । यसपछि त उनी पढाउन छोडेर त्रिभुवन विश्व विद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालको गाउँ गाउँ घुम्दै पुतली जम्मा गर्न थाले । यो एउटा चुनौतीपूर्ण काम थियो तर उनीको रहर पनि थियो ।

नभन्दै उनले ४० जिल्लाको भ्रमण पछि करिब २५००० पुतली सङ्ग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाई नामाकरण गरे । नेपालमा पाइने ६६० प्रजातिका पुतली मध्य उनले करिब ५५० प्रजाति भेट्टाए । यसरी उनले आफूले पाएको ६ वर्षको समयमा पुतली सङ्कलनका साथ त्यसलाई सुरक्षित गराइ प्राकृतिक विज्ञान सङ्ग्रहालयलाई हस्तान्तरण गरे ।

बुबा बिरामी भएको खबर पाए पछि उनी स्वदेश फर्कनु भयो । बिमार बुबाको स्वर्गारोहण भयो, आमा एक्लो थिए त्यसैले उनको हेरचाह गर्न वहाँ बेलायतमै बसे । केही कामधन्धा बिना उनी ५ वर्ष त्यतै बसे । त्यसपछि फर्केर पोखरामा डोरो थी मिरोको सङ्ग्रहालयको लागी कार्य गर्न थाले । यसै बिच २०४२ को माघमा आमाको पनि स्वर्गारोहण भयो । तर पनि उनले पोखराको अन्नपूर्ण सङ्ग्रहालयको काम रोकेनन् । निरन्तर लागिरहे, अन्त २०५२ मा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर सङ्ग्रहालयमा सजाए । आज यो सङ्ग्रहालयलाई दर्शकहरू पुतली सङ्ग्रहालय भनेर चिन्दछन् । 

विश्वमा पाइने १७५०० प्रजातिका पुतलीमा नेपालमा ६६० प्रजातिका पुतली भेटिएको छ । नेपालका पुतली सम्बन्धी जति जानकारी कलिन सरलाई छ, शायद कसैलाई पनि छैन । त्यसैले होला, अर्का किट विज्ञानी एवं WWF Bhutan मा Advisor को रूपमा कार्य गरिरहेका कलिन सरका मित्र Piet Van der Poel अहिले उनको बारेमा केही लेख्ने तैयारी गर्दै हुन् । उनी Colin Smith अर्थात् पुतली बाजेको जीवनी लेख्दै हुन् । आशा छ यो पुस्तकले अझ विश्वभर उनको नाम सुविख्यात हुनेछ ।

उनको बारेमा धेरै जनाले लेखे तर सधैँ एउटै कथा लेखे । तर म सधैँ भिन्न खोज्ने तसर्थ केही नौला कुरा भेटिन्छ कि भन्ने सोचले धेरै पटक उनलाई भेटे । कलिन सरलाई मैले पहिलो पटक २०३४ साल तिर भेटेको हुँ, डोरो थी मिरोको घरमा जाने गर्दा उनलाई भेटेको थिए । उनी त्यति बेला शायद प्राकृतिक विज्ञान सङ्ग्रहालय (Natural History Museum) को लागी काम गर्दै हुनुहुन्थ्यो । त्यसपछि त हाम्रै टोलका परियार दाजुभाइहरू सँग बेला बेला देखिरहन्थे । सधैँ साइकलमा देखिनु हुने प्राय उनको हातमा पुतली समाउने जाली हुन्थ्यो । उनलाई देखेर अनौठो लाग्थ्यो । एउटा पागलपन, जसमा उनलाई आफ्नो व्यक्तिगत कुनै प्रवाह नै हुँदैनथ्यो । मैले पहिलो पटक भेटेको समय नै पनि ४५ वर्ष भइसक्यो ।

उनको आफ्नो सौखको लागी संसार बिर्सने स्वभावको हुनुहुन्थ्यो ।उनको कुनै जागिर थिएन, हरेक वर्ष भिसा थप्दा शुल्क बढी लाग्ने, त्यसैले उनलाई चर्चका मित्रले एक महिलासङ विवाह गर्न अनुरोध गरे । पतिको मृत्युपछि एक्लै बसिरहेका महिला पैसाको लागी कागजी विवाह गर्न तैयार भए । सुरु सुरुमा त निकै सहज भयो तर पछि सही गर्नु अगाडी विभिन्न माग राख्न थाल्थे । यसरी उनको भिसा थपिने काम त सहज भयो तर महिलाले बारम्बार उनलाई दुख दिन छाडेन ।

जुन देशमा सेवा गर्न बसे त्यो देशले नागरिक स्विकार्न नखोज्ने, जुन महिलालाई भिसा सहज होला भनेर निश्चित रकम दिने सर्तमा कागजी विवाह गरे उनले विभिन्न माग राख्दै कागजमा सही गर्न अन कनाउने । आफ्नो कमाइ केही नहुँदा लन्डन फर्कँदा पेन्सन बापत पाउने रकमले बाच्न नसकिने भन्दै लन्डन फर्कन पनि नचाहने । पालेको छोराबाट पनि खासै सहानुभूति र सौहार्द्यता नपाउँदा उनको जीवन जोगीको जस्तो भएको थियो । शरीर कमजोरीले थाम्न नसकिने भैसकेको छ । उभिएर हिँड्न पनि कठिन भैसकेको छ । त्यसैले अधिकांश समय सुतेरै बिताउँछन् ।

कहिले काही उनलाई जीवन देखी निकै न्यास्रो लागेर आउँछ होला, त्यसैले भन्ने गर्छन्, मलाई सेतीमा लगेर जलाइदिए पनि हुन्छ । आँसु पनि धेरै पिइसके होलान् त्यसैले पिडाको कुरा सुनाउँदा पनि हाँसेर सुनाउँछन् । हामी सुन्नेको आँखा भरिएर आउँछ, तर उनी हौसिदिए ।

जीवनको यौवन यहि गुमाए, केही गर्न सक्छु भन्ने उमेरमा पुतली जम्मा गर्दै नेपालका विभिन्न सङ्ग्रहालयलाई सुम्पे । जीवनको अन्तिम सङ्ग्रह उनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको लागी गरेका थिए । जब केही काम गरे पछि केही पैसा पाउँथ्यो, खुसीले त्यो पैसा कसलाई दिने भन्दै बाँड्न थाल्थे ।

निकै लामो प्रयासमा उनलाई नेपाल सरकारबाट समाधानार्थ नेपाली नागरिकता दिलाउन सक्षम भएका थियौ । नागरिकताले भिसाको समस्या हट्यो । नेपाल सरकारले दिने वृद्ध भत्ता र बेलायत सरकारबाट पाउने पेन्सन मासिक १२५ पाउन्डले उनको जीवन राम्ररी चलिरहेको थियो । अचानक अस्पतालमा थलिए ।

लामो समय देखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत उनको आज मिति २०८० कार्तिक १८ गते बिहान ३ बजे ८७ वर्षको उमेरमा देहावसान भएको छ । उनको अन्त्येष्टि कार्तिक २० गते पोखरा गाईघाट (आईएनएफ पछाडि) मा गरिएको छ ।

प्रतिक्रिया