शुक्रबार, जेठ ३, २०८२

मादल बनाउने पेसा सङ्कटमा

नेपालखोज २०८० कार्तिक २३ गते ९:१०

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

अहिले तिहारको समयमा पनि सोचेअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताए । विगतका वर्षहरुमा गाउँदेखि सहरसम्म तिहारमा भैलो खेल्नहरु मादल किन्न आउने हुँदा दैनिकी नै मादल बनाएर बित्ने गरेको उनले सुनाए । यो वर्ष तिहार नजिकिँदै गर्दा पनि हालसम्म मादल बिक्री हुन नसकेको उनले दुखेसो पोखे ।

केही वर्षअघि सम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै वादीले भने, ‘प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ । यो वर्ष अहिलेसम्म छ-सात मादल बिक्री भएको छ ।’

साढे चार दशकभन्दा बढी समय मादल बनाएर बिक्री गर्ने पेसा गर्दै आएका उनी पछिल्लो समय बिक्री नहुँदा मादल र बाँसुरी बनाउने पेसा नै सङ्कटमा पर्छ कि भन्ने चिन्ता लाग्न थालेको उनले बताए ।

करिब एक दशक अघिसम्म तीज, दसैँ र तिहारलगायत चाडपर्वमा ग्राहकलाई मादल पुर्याउन धौधौ पर्ने बताउँदै वादीले चाडबाडमा मात्रै एक लाखसम्म आम्दानी हुने गरेकामा अहिले वर्षभरि बिक्री गर्दा पनि ५०/६० हजार नपुग्ने जानकारी दिए ।

प्रविधिको विकासले मानिसका हातहातमा मोबाइल आएपछि आफूहरुको मादल तथा बाँसुरी बनाउने पुख्र्यौली पेसा नै सङ्कटमा पर्न थालेको वादीले बताए ।

‘अहिले सबैका हातहातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तिहारमा मादलभन्दा डेग खोजेर नाच्न थालेका छन्’, उनले भने, ‘यसले मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसासमेत सङ्कटमा परेको छ ।’

गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि डेगबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उनको भनाइ थियो ।

उनको जस्तै दुखेसो छ स्वर्गद्वारी टोलका ५० वर्षीय रामप्रसाद वादीको पनि । कुनै समय मादल बिक्री गरेर पाँचजनाको परिवार पाल्ने गरेका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताए । प्रविधिको विकासले जातीय तथा सांस्कृतिक पेसाका रुपमा रहेको मादल बनाउने पेसा नै लोप हुने अवस्थामा पुगेकामा उनले चिन्त व्यक्त गरे ।

विगत छ वर्षदेखि मादल बनाउनाका साथै फुर्सदको समयमा घर बनाउने काम गर्दै आएको रामप्रसादले जानकारी दिए । ‘पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरू काम गर्नु पर्दैन थियो । वर्षभरि नै मादल बनाउने र बिक्री गर्ने काम गरिन्थ्यो’ उनले भने, ‘अहिले मादलको बिक्री घटेको छ । चाडपर्वको समयमा मात्रै बनाउने गर्ने गरेको छु ।’

चाडपर्वसँगै सांस्कृतिक कार्यक्रमहरुमा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउन्ड सिस्टम (डेग), हातहातमा मोबाइलले सुविधा दिन थालेपछि स्थानीय कच्चापदार्थ प्रयोग गरेर बनाइने मादल बिक्री हुन छोडेको रामप्रसादले बताए ।

‘मादल मर्मत गर्न आउने लगभग हराइसकेका छन् । कोहीकोही नयाँ किन्न आउनुहुन्छ’, उनले भने, ‘मादल बनाएर मात्रै जीविकोपार्जन नहुने भएपछि अन्य काम गर्न बाध्य छौँ ।’ मादल बनाउन आवश्यक पर्ने कच्चापदार्थ खमारीको काठ, खरीलगायत सामग्री पाउन पनि समस्या हुने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया