सोमबार, मंसिर २९, २०८२

बत्तीस किचन सम्हाल्दै सेफ कौशल

नेपालखोज २०८० कार्तिक २३ गते ९:१८

चितवन,  होटल, रेष्टुराँ, पार्टी प्यालेसका सञ्चालक र त्यहाँका कार्यकारी प्रमुखलाई धेरैले चिन्दछन् तर त्यही भान्साघर (किचन) लाई व्यवस्थित गरेर संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेफहरुलाई भने कमैले मात्र चिन्दछन् । यस्तै भूमिकामा रहेका बुटवलको देवीनगरका एलबी कौशलले सिद्धार्थ हस्पिटालिटी एण्ड विजनेश ग्रुपका ३२ वटा किचन सम्हाल्दै आएका छन् ।

उनकै नेतृत्वमा यो समूहका होटल, रेष्टुराँ, पार्टी भेनु र कलेज सञ्चालन हुँदै आएका छन् । विगत पाँच वर्षदेखि कौशलले यो समूहको नेतृत्व गर्दै आएका हुन् । होटल म्यानेजमेन्टको अध्ययनसँगै सन् २००० देखि उनले यो यात्रा सुरु गरेका हुन् । एकचालिस वर्षीय कौशलले धेरै पाँचतारे होटलमा काम गरिसकेका छन् । सोही अनुभवका कारण उनले अहिले एक हजारभन्दा बढी किचनको नेतृत्व गरेर सिद्धार्थ ग्रुपको भान्सालाई अघिबढाएका छन् ।

भारतको नयाँदिल्लीमा बिएचएम उत्तीर्ण गरेसँगै कौशलले भारतकै भूपालमा रहेका पाँचतारे होटलमा काम सुरु गर्नुभएको थियो । ट्रेनिङ सेसनदेखि नै काम सुरु गरेका उनी कमी थर्ड, कमी सेकेण्ड, कमी फस्ट हुँदै अहिले कर्पोरेट सेफ बन्नु भएको हो । कौशलले होटल सूर्या, ताज होटल, अन्तर्राष्ट्रिय ग्रुप आइजी, चेन ग्रुप सिग्नेटलगायत होटलमा काम गरिसकेका छन् ।

यससँगै उनी नेपालका होटल म्यानेजमेन्ट कलेजहरुसँग पनि जोडिनुभएको छ । गेट कलेज काठमाडौं, सिल्भर माउण्टेन कलेज, नाथेम कलेज, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतमा गेष्ट लेक्चर र प्रयोगात्मक इन्स्ट्रक्टरका रूपमा कौशलले काम गर्दै आएका छन् । सन् २०१९ को मास्टरसेफ प्रतियोगिताको निर्णायक समेत उनी थिए । सिद्धार्थ ग्रुपमा कौशल छिर्दै गर्दा १३ वटा शाखा थिए । अहिले यो शाखा ३२ पुगेको छ ।

सिद्धार्थ ग्रुपमा रेष्टुरेन्टदेखि पाँचतारे होटलसम्म छन् । उनले भने ‘हरेक शाखामा कार्यकारी सेफ राख्छौँ । उनीहरुले मलाई रिपोर्टिङ गर्छन् । खानाका परिकार मबाट फलो गरेर तयार गर्छन् ।’ दैनिक अनलाइन बैठक गरेर छलफल गर्ने र आइपरेका समस्या पहिचान गरी समाधान गर्ने गरेको उनको भनाइ थियो । कौशलले थपे ‘खानाको गुणस्तरमा सम्झौता गर्दैनौ । फुडलाई सेफ्टी र हाईजेनिक बनाउनाका साथै केयर पनि गर्छौँ ।’

खानाबाटै ९५ प्रतिशत रोग लाग्ने भएकाले उनले त्यसमा कुनै पनि हेलचक्र्याई नगरी खाद्य सुरक्षालाई ख्याल गर्ने गरिएको बताए । कौशलले थपे ‘स्वस्थकर खाना दिन्छौँं । प्राङ्गारिक खानामा हामी विश्वास गर्छौं ।’ आफूहरुले मसलामा पनि विशेष ध्यान दिन गुणस्तरीय ब्राण्डका मात्रै मसला प्रयोग गर्ने गरेको कौशलले बताए । उनले भने ‘जिरा, धनियाँ, गरममसला, कबाब मसला आफै बनाउँछौँ ।

रङग प्रयोग गर्दैनौंँ । हामीले तयार गरेको खानामा प्राकृतिक रङ्ग हुन्छ ।’ व्यवस्थापनले पनि गुणस्तरमा कुनै सम्झौना नगर्न आफूहरुलाई भनेकै कारण उच्चस्तरको खाना तयार गर्न सकिएको कौशलले बताए । काठमाडौंको कोटेश्वरमा रहेको सिद्धार्थ हस्पिटालिटी इन्स्टिच्यूटबाट तालिम लिएर आउनेलाई मात्रै काममा लगाउने गरेको उनले बताए ।

पेसागत हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेकाले आफ्नो ग्रुपभित्र काम गर्ने सेफले मासिक तीन लाखसम्म पारिश्रमिक पाउने गरेको उनले जानकारी दिए । बजारमा खोजेजस्तो जनशक्ति पाउन नसकिएको अवस्थामा यही बसेर मेहनत गर्न सक्यौंँ भने राम्रै कमाउन सकिने कौशलले बताए ।

प्रतिक्रिया