छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी छ जनाको मृत्यु

काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा लु.१ ख ५८६९ नम्बरको बस र लु.८१ प ८०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय नारायण सापकोटाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा मधेश प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिवन नगरपालिका–३ बस्ने ६० वर्षीय चन्द्र बहादुर मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ मदारगढस्थित लु.४ त १५२४ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टरमा च्यापिएर सोही ठाउँ बस्ने ४२ वर्षीय मुस्ताफा मुसलवानको बिहीबार साँझ मृत्यु भएको छ । च्यापिएर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
लमजुङको राइनास नगरपालिका–३ ज्यामिरेमा ग.१ त ७०१६ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने २५ वर्षीय टेक बहादुर गुरुङको बिहीबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–१४ पिपिरस्थित सडकमा ना.६ ख ८८९८ नम्बरको मिनीट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–१० चटार बस्ने ३५ वर्षीय तिर्थराम थारूको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा प्र.१–०१–००१ ज ३७६० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय गंगा प्रसाद राजवंशीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया