देवीस्थानमा विपद् कोष स्थापना

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा विपद् व्यवस्थापन कोष स्थापना भएको छ ।
गाउँमा हुने विपद्जन्य घटनाबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले स्थानीयवासीबाट १४ लाख ६७ हजार पाँच सय ५५ जुटाएर कोष स्थापना गरिएको हो ।
पूर्व वडाध्यक्ष पिपला बुढाले देवीस्थानवासीको आपत्कालीन उद्धार सहयोग गर्ने उद्देश्यले स्थापना भएको अक्षय कोषमा संरक्षक पदमबहादुर बुढाथोकीका दम्पतीले चार लाख सहयोग गरेको जानकारी दिए ।
पूर्व वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा कोष सञ्चालक समिति गठन भएको छ । देवीस्थान घर भई हाल विभिन्न देशमा रहेका देवीस्थानवासी, वडाध्यक्ष मिम पुन, आमा समूह, विभिन्न संस्थालगायतको सक्रियतामा र सहयोग रकम जुटाउने क्रम जारी छ ।
कोषबाट हालसम्म आगलागीपीडित र आर्थिकरूपमा कमजोर भएका छ जनालाई उपचारका लागि सहयोग गरिएको छ । विपन्न बिरामीलाई अस्पताल पुग्न, विपद्का क्रममा घरबास गुमाएकालाई सहयोग गरिएको हो ।

प्रतिक्रिया