शुक्रबार, वैशाख १४, २०८१

‘यातायात व्यवसायीलाई युज एन्ड थ्रो गरियो’

‘नेपालको सार्वजनिक यातायात तल्लो तह, तल्लो वर्गको, सामान्यभन्दा सामान्य मानिसले प्रयोग गर्ने भएको हुँदा यसलाई प्राथमिकतामा राखिदिनुस्’

मीना साउँद २०७८ जेठ २९ गते १२:४२

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर सुरु भएसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै मुलुकभरका ७५ जिल्लाहरूमा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी छ । जसका कारण हाल सम्पूर्ण क्षेत्र बन्छ छन् ।

निषेधाज्ञा कारण सबै क्षेत्र उत्तिकै प्रभावित भए पनि यातायात क्षेत्रमा यसको प्रभाव अझ बढी परेको छ । कारण हो, अन्य क्षेत्र निषेधाज्ञा खुल्न साथ सञ्‍चालनमा आए पनि यातायात क्षेत्र सञ्‍चालनमा आउन समय लाग्छ । ग्यारेजमा थन्क्याएर राखेका सवारीका पार्टपुर्जा बिग्रिएरले तिनको मर्मत सम्भार गरेर सञ्‍चालनमा ल्याउन समय लाग्छ । गत वर्ष पनि लामो समयको लकडाउन तथा निषेधाज्ञा पनि अन्य क्षेत्र सञ्‍चालनमा आएका थिए । तर यातायात क्षेत्र सञ्‍चालनमा आउन समय लागेको थियो । यद्यपि पछि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न दिइएको थियो ।

गत वर्षको लामो समयसम्मको लकडाउन तथा निषेधाज्ञाले प्रभावित भएको यातायात व्यवसाय विस्तारै गति लिइरहेको अवस्थामा फेरि दोस्रो लहरको संक्रमणका कारण उठ्नै नसक्ने गरी थला परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । खर्बौं रुपैयाँको लगानी गरेर सञ्‍चालनमा ल्याइएका यातायतका साधन ठप्प हुँदा एकातर्फ तिनका पार्टपुर्जा घाम पानीले बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाले बैंकको ऋण तिर्न व्यवसायीहरूलाई ताकेता गर्न थालेका छन् ।

सवारी ठप्प रहेर तिनका मजदुरलाई दैनिक गुजारा गर्नसमेत हम्मेहम्मे परिरहेको समयमा बैंकहरूले किस्ता तिर्न दबाब दिन थाले पनि व्यवसायीमा आर्थिकका साथै मानसिक समस्या पनि देखिन थालेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित यातायात क्षेत्रलाई सरकारले समेत उपेक्षा गरेको महासचिव सिटौलाको गुनासो छ । बैंकले दिने भनेको सुलभ कर्जा केही ठूला कम्पनीहरूले पाए पनि अन्यले भने त्यो पनि नपाएको उनको भनाइ छ । साथै निषेधाज्ञाको समयको करलगायतमा यातायात व्यवसायीलाई छुट दिनुपर्ने माग गरे पनि आफूहरूले त्यो पनि नपाएको उनले बताए । गत वर्ष आफूहरूले पाउनुपर्ने कुनै पनि सेवा सुविधा र छुट नपाएर रुष्ट बनेका यातायात व्यवासायी यस वर्षको बजेटमा केही राम्रो कुरा आए पनि त्यो कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने कुरामा ढुक्क छैनन् । यस वर्षको बजेटमा सरकारले आफूहरूका लागि केही राम्रा योजनाहरू समेटे पनि त्यो कार्यान्वयन हुन्छ भन्नेमा आशंका रहेको सिटौला बताउँछन् ।

यातायात क्षेत्र स्वार्थका रुपमा प्रयोग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले यातायात क्षेत्रलाई स्वार्थका रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । विभिन्न समयमा, विभिन्न परिवर्तनमा नेपालका राजनीतिक दलले यातायात क्षेत्रलाई टेकेर आफ्नो अभिष्ट पूरा गरेको तर आफ्नो स्वार्थ पूरा भइसकेपछि आफूहरूलाई युज एन्ड थ्रोका रुपमा राखेको उनले बताए । उनले अब भने मुलुकमा भइरहेको राजनीतिक किचलोलाई अन्त्य गर्दै मुलुकको समग्रह अर्थतन्त्रलाई माथि उकास्न सबै राजनीतिक दल र सरकार एकजुट हुनुपर्ने बताएका छन् । उनले भने, ‘अब त्यस्तो नहोस्, अहिलेको राजनीतिक किचालोको अन्त्य भई एउटा बाटोमा आओस् । कोभिडबाट शिथिल भएको सबै पेसा, व्यवसाय, रोग-भोक सबै कुरालाई माथि उकास्न सरकारदेखि मुलकका राजनीतिक दल एक ठाउँमा आउन् ।

यातायात क्षेत्र मुलुकको रक्तसञ्चार
महासचिव सिटौलाले यातायात क्षेत्र मुलुकको रक्तसञ्चार रहेको बताएका छन् । यातायात क्षेत्र सञ्‍चालनमा नआउन्जेल मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने उनले बताएका छन् । असार १ देखि लुजडाउन भए पनि यातायात क्षेत्र सञ्‍चालनमा आउन नसके बजार, कुनै पनि अर्थतन्त्र चलायमान हुन नसक्ने उनले बताए । नेपालखोजसँग उनले भने, ‘पसल, सटरहरू खोलियो । सटर खोलिएला पसलको मान्छे पुग्न सकेन भने बजार सञ्‍चालन हुन सक्दैन ।’ अत्यन्तै तल्लोदेखि सबै वर्गकाले समेत प्रयोग गर्ने सार्वजनिक यातायात सञ्‍चालन हुन नसके समग्र अर्थतन्त्र चलायमा हुन नसक्ने उनले बताए ।

यस्तै असार १ गतेदेखि लुजडाउन गर्ने भन्ने सुन्नमा आए पनि यातायात व्यवसायीसँग सरकारले कुनै पनि सल्लाह नगरेको महासचिव सिटौला बताउँछन् । उनले लुजडाउनको बहानामा सरकारको कर उठाउने बहाना मात्रै पनि हुन सक्ने आशंका व्यक्त गरे । कुन बेला सवारीसाधन खुल्छ र बैंकको एसएमएस आउँछ भन्ने आफूहरूलाई त्रास रहेको व्यवसायीको भनाइ छ । निषेधाज्ञामा समेत बैंकहरूबाट ऋण चुक्ता गर्न ताकेता आउँदा कतिपय व्यवसायी डिप्रेसनमा समेत गएको सिटौलाले बताए । तर सरकार साँच्चिकै जनता र पेसा-व्यवसायीतर्फ उत्तरदायी भएर लाग्ने भए सवारीसाधन घर-ग्यारेजमा थन्क्याएर नहुने भन्दै मजदुरलाई भ्याक्सिनलगायत कुरामा सहजता गरिदिए आफूहरू यातायात खोल्न तयार रहेको महासचिव सिटौलाले बताए ।

संघीयता नै यातायात व्यवसायलाई अभिसाप
महासंघका महासचिव सिटौलाले संघीयाता नै यातायात व्यवसायलाई अभिसाप भएको बताएका छन् । सरकारले यातायात क्षेत्रका लागि हरेक वर्ष विभिन्न निर्णय गरे पनि प्रदेश, स्थानीय हुँदै विभिन्न ठाउँमा घुमाउरो तरिकाले आफूहरूलाई समयमा काम गर्न दिन अप्ठ्यारोमा पारेको उनले बताए । कर संघीय, प्रदेश तथा स्थानीय सबैले लिए पनि उनीहरुले सेवा दिनुको साटो घुमाउरो पारामा जनता तथा यातायात व्यवसायीलाई दुःख दिने काम गरेको सिटौला बताउँछन् ।

गत वर्ष सरकारले नीति तथा कार्यक्रममा यातायात व्यवसायीका लागि योजना ल्याएको थियो त्यो प्रभावकारी ढंगबाट कार्यान्वयन हुन नसक्दा दुई लाखको हाराहारीमा मजदुरहरू विस्थापित हुनुका साथै अर्बौं रुपैयाँको क्षति भएको उनले बताए । ‘तर यस वर्षको भने यातायात क्षेत्रमा भएको हानिको आँकडा निकाल्न बाँकी रहेको छ,’ उनले नेपालखोजसँग भने ।

‘आगामी चुनावमा भोट माग्न आउँदा विचार गरेर आउनू’
महासचिव सिटौलाले आगामी चुनावका लागि भोट माग्न आउँदा विचार पुर्‍याएर आउन चेतावनी दिएका छन् । अहिले यातायात व्यवसायीका गुनासाहरूलाई सही ढंगबाट सम्बोधन भएन भने आगामी चुनावमा भोट माग्न आउँदा विचार गरेर आउन उनले आग्रह गरेका छन् ।

उनले भने, ‘नेपालको सार्वजनिक यातायात तल्लो तह, तल्लो वर्गको, सामान्यभन्दा सामान्य मानिसले प्रयोग गर्ने भएको हुँदा यसलाई प्राथमिकतामा राखिदिनुस् । तपाईंहरूलाई भोट दिएर जिताएर दुईतिहाइ बहुमत पुर्‍याउने मान्छे हौं । भोलि फेरि चुनाव हुन्छ । तपाईंहरूले भोट माग्न हामीसँग फेरि आउनुपर्छ । त्यसकारण अहिले यातायात व्यवसायीका जुन समस्याहरूलाई राम्रो ढंगबाट तपाईंहरूले उठान गर्नु भएन भने, यसपटकको चुनावमा तपाईंहरूले हामीहरूसँग भोट दिनुस् भनेर आउँदा विचार गरेर आउनुहोला । यसलाई मेरो चेतावनी भन्नुहोस् या जे सुकै भन्नुस् । किनभने, यातायत क्षेत्रलाई तपाईंहरूले थिलथिलो पार्नुभएको छ । मजदुरहरूलाई तपाईंहरूले जहिले पनि ढालका रुपमा प्रयोग गर्नुभएको छ ।’ महासचिव सिटौलाले मजदुर ट्रेड युनियनलाई पनि खाली राजनीतिक पार्टीको भ्रातृ संगठनका रुपमा मात्रै प्रयोग गरेको हुँदा आफ्ना आवाजहरू बुलन्द ढंगबाट उठाउन आग्रह गरेका छन् ।

‘निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर सहुलियत चाहिन्छ’
महासचिव सिटौलाले निषेधाज्ञाको अवधिलाई ‘शून्य’ समय मानेर सहुलियत दिन सरकारसँग माग गरेका छन् । निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर बैंकको किस्ता तिर्न सहजीकरण गरिएन भने यातायात व्यवसायीले कुनै हालतमा किस्ता तिर्न नसक्ने उनले बताएका छन् ।

सरकारले अहिले व्यवसायीलाई सहजीकरण गरिदिएर पछि कर उठाउँदा आफूहरूलाई कुनै आपत्ति नरहेको उनले बताए । अनुमानित १० खर्बको लगानी रहेको यातायात क्षेत्रमा प्रत्यक्ष ११ लाख र त्यसमा करिब ४० देखि ४५ लाख परिवार आश्रित छन् ।

आफूहरूले अर्थसचिव शिशिरकुमार ढुंगानालाई यातायात क्षेत्रका समास्यालाई प्रभावकारी ढंगबाट कार्यान्यवन हुने गरी प्राथमिकतामा राख्न आग्रह गरेको र अर्थसचिवबाट पनि समस्या समाधान हुने आश्वासन आएकाले आफूहरू आशावादी रहेको महासचिव सिटौलाले बताए । उनले अब पनि आफूहरूका समस्या समाधानतर्फ सरकारको ध्यान गएन भने ‘पर्ख र हेर’ को अवस्थामा नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया