भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाख बढी सहयोग

वालिङ (स्याङ्जा) । जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै १३ लाख सहयोग गरेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाले चार लाख, भीरकोट नगरपालिकाले रु तीन लाख र फेदीखोला गाउँपालिकाले पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन् ।
गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख गरी कूल चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
नगरपालिकाले भूकम्पका कारण क्षति पुगेका घरमा बस्न सक्ने अवस्था नभएको र जाडोको मौसम भएकाले राहतस्वरुप फाईबर सिरकहरुसमेत पठाएको छ ।
फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट पाँच लाख ७७ हजार तीन सय ५५ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
जिल्लाबाट विभिन्न सङ्घ संस्था तथा व्यक्तिले भूकम्प प्रभावितका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ ।
प्रतिक्रिया