शनिबार, असार १४, २०८२

मंसिर ७ गतेको प्रदर्शन माइतीघर र नयाँ बानेश्वरमा गर्न निषेध

नेपालखोज २०८० मंसिर ४ गते १७:४५

काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गर्नका लागि निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय भएको हो ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म सरकारी तथा संवेदनशील निकाय भएकाले पनि त्यहाँ प्रदर्शन गर्न नदिइने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने, ‘माइतिघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्र सम्वेदशिल क्षेत्र हो । सर्वोच्च अदालत, सिंहदरबार, विशेष अदालत, जिल्ला अदालत तथा अन्य सरकारी सम्वेदनशिल कार्यालय पनि त्यसै क्षेत्रमा पर्छन् । त्यहाँ प्रदर्शन गर्दा नागरिकलाई पनि सास्ती हुनेभयो । सडक पनि अवरुद्ध हुनेभयो । त्यसैले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न नदिने निर्णय भएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्नेछन् ।

प्रतिक्रिया