सुत्केरीको मृत्युले जनकपुर प्रादेशिक अस्पतालमा तनाव

काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो ।
मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो ।
वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पुर्याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए ।
उनले चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाए । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ ।
यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे ।
प्रतिक्रिया