जाजरकोटमा कांग्रेसले बनायो १०० घर

जाजरकोट । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीहरूमा एक सय अस्थायी घर टहरा निर्माण कार्य सम्पन्न गरेको छ । कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटको नलगाड नगरपालिका एक सय अस्थायी घर टहरा निर्माण कार्य सम्पन्न गरेको हो ।
प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण गर्ने लक्ष्य अनुसार पहिलो चरणमा एक सय अस्थायी घर टहरा निर्माण सम्पन्न गरिएको पौललेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेका जनाएका हुन् ।
अस्थायी घर–टहरा निर्माणलाई निरन्तरता दिन पार्टीले पुनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको समेत उनले जानकारी दिएका छन् ।
उनले पहिलो चरणमा एक सय घर निर्माण सम्पन्न गर्दै सरकारलाई १० आग्रह समेत गरेका छन् । ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्नेदेखि अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने सम्मका आग्रह पौडेलले सरकारसँग गरेका छन् ।
प्रतिक्रिया