एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम शुरु गरिएको छ ।
जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
भूकम्प पछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुम पश्चिम पुगेका बेला त्यहाँका स्थानीय जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बताए ।
अहिलेसम्म संस्कृतिविद् डा चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसंगको अन्तरवार्ता प्रसार भै सकेको र चर्चित कलाकार मनोज गजुरेसंगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए ।
आफ्ना प्रियजन गुमाएका भूकम्प पीडित लगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफुहरुले कार्यक्रम निर्माण गरिरहेको र श्रोताहरुबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भै रहेको पनि उनले बताए । अहिलेलाई साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भै रहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए । उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद पनि दिए ।
यसै गरी काठमाडौंस्थित मनोपरामर्श दिने संस्था, ह्याप्पी माइन्ड्स, ले रेडियो हाम्रो पाइला एफएमलाइ कार्यक्रम उत्पादनमा सहयोग गर्ने ह्याप्पी माइन्ड्सकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् । ‘हामीले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितहरु, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुका लागि निशुल्क २४ घन्टे मनोपरामर्श सेवा सुरु गरेका छौ । ९८०१०२९५०० मा फोन गरेर निशुल्क रुपमा परामर्श लिन सकिन्छ । रेडियो हाम्रो पाइला एफएमसंग सहकार्य गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ,’ उनले भनिन् । गत महिना जाजरकोट र रुकुम पश्चिम पुगेर एनआरएनए टोलीले भूकम्प पीडितहरुलाई अत्यावश्यक राहत पनि वितरण गरेको थियो ।
प्रतिक्रिया