आइतबार, जेठ ६, २०८१

पाँच शिक्षक–कर्मचारी भर्नामा अनियमितता भन्दै अख्तियारमा उजुरी, होला त कारबाही ?

नेपालखोज २०८० मंसिर १० गते १७:१९

रुपन्देहीको मर्चवारी गाउँपालिका स्थित अमवा माध्यमिक विद्यालयमा शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । कार्तिक २१ र २३ गते परेको उजुरी सम्बन्धमा छानबिनको प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारीले बताएका छन् ।

सङ्घीय शिक्षण इकाई अनुदान र गाउँपालिका अनुदानमा प्रावि शिक्षक १, निमावि शिक्षक ३ र पुस्तकालय सहायक १ पदका लागि छनौट प्रक्रियामा धाँधली भएको भन्दै उजुरी परेको हो ।

परीक्षा भइरहँदा गाउँपालिका शिक्षा शाखालाई रोहबरमा समेत राखिएको छैन । परीक्षाका बखत त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वा अन्य कोही कर्मचारी प्रतिनिधि पनि मौजुद थिएनन् ।

शिक्षक–कर्मचारी भर्नाका लागि विद्यालयले शिक्षा शाखा सित समन्वय गर्नै पर्ने हुन्छ, भने शिक्षा शाखाले जिल्ला शिक्षा विकास समन्वय इकाईलाई अनुरोध गर्नुपर्नेमा त्यसो गरिएको छैन ।

एकतिर विद्यालय व्यवस्थापन समितिले नामै किटान गरी कोटहीमाइको शिक्षा अधिकृत माग गरेर परीक्षाको नियम मिचेको छ भने अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा गाउँपालिका अध्यक्षले सहीछाप गरी कोटहीमाइलाई पठाएको पत्रले मर्यादा मिचेको छ ।

‘यो विषय निकै पेचिलो बन्दै गएको छ । अख्तियारमा उजुरीपछि उक्त विषयलाई साम्य पार्न अनेक प्रपञ्च रचिँदै छ –उजुरीकर्ताले भने, – विद्यालय व्यवस्थापन समितिले गरेका विभिन्न निर्णयका समयमा हाजिर नरहेका वडाध्यक्ष समेतले किर्ते सही मिलाउन लागिपरेका छन् ।’

गाउँपालिकाबाट २८ किलोमिटर टाढा भैरहवा स्थित लीलाराम मा.बि.मा परीक्षार्थी बोलाएर नियम विपरीत गरिएको परीक्षा बदर गरी पुनः परीक्षा गराउनुपर्ने भन्दै अख्तियारमा उजुरी गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको उजुरीकर्ताको गुनासो छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतले शक्तिकेन्द्र रिझाउन दौडधुप थालिसकेको भन्दै कारबाही हुनेमा उनी सशङ्कित छन् । स्टिङ्ग अपरेशन बाहेक अन्य अनियमितताका सन्दर्भमा अख्तियार सुस्त देखिने गरेको उनको गुनासो छ ।

‘परीक्षा विधि र प्रक्रिया अनुसार चल्नुपर्ने हो, तर त्यसो भएको छैन –शिक्षा शाखा प्रमुख मनमोहन यादवले भन्नुभयो,’परीक्षा सञ्चालनका लागि विद्यालयले नामै किटान गरेर अन्य पालिकाको शिक्षा अधिकृत माग गर्नु आफैमा नियम विपरीत र शङ्कास्पद कार्य हो ।’

मर्चवारी गाउँ पालिकामा शिक्षा अधिकृत नभएकोले कोटहीमाइ गा पाको शिक्षा अधिकृत अमृता बुढाथोकीलाई त्यस गाउँपालिका मार्फत माग गरिदिन अनुरोध गरेको अमवा मा.बि.ले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

परीक्षा सञ्चालनका लागि नियमावली विपरीत नामै किटान गरी बोलाइएको शिक्षा अधिकृत बुढाथोकी र बि.व्यवस्थापन समितिको मिलेमतो देखिएको स्विकार्दै शिक्षा शाखा प्रमुख यादवले भन्नुभयो, ‘शिक्षा शाखाको रोहबरमा नभएको परीक्षाको कुनै अर्थ रहँदैन ।’

विद्यालयका प्रधानाध्यापक राजाराम कोहारले असोज २४ गतेसम्म निवेदन दिने समय सीमा तोकेकोमा कार्तिक २० गते परीक्षा सम्पन्न गरी नियुक्त शिक्षक–कर्मचारीले नियमित कामकाज गरिरहेका बताउनु भयो । छनौट प्रक्रियामा बसेका कोटहीमाइ गाउँपालिकाका शिक्षा अधिकृत अमृता बुढाथोकीलाई सम्पर्क गर्दा सफल हुन सकेन । -INS

प्रतिक्रिया