कीर्ते गरेर जग्गा बेच्न खोजेको आरोपमा मोरङमा ५ जना पक्राउ

विराटनगर । सरकारी सही छाप कीर्ते गरेको आरोपमा प्रहरीले मोरङको रतुवामाइ नगरपालिका–४ का पाँच वृद्धवृद्धालाई पक्राउ गरेको छ । संयुक्त नाममा रहेको जग्गा बिक्री गर्ने प्रयोजनका लागि वडा कार्यालयको सिफारिस कीर्ते बनाएको आरोपमा ६० वर्ष माथिका पाँच जना वृद्धवृद्धा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार रतुवामाई नगरपालिका–४ की ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी, ६४ वर्षीय कन्हरुलाल केवरत र ६५ वर्षीय चेतनलाल राजवंशी पक्राउ परेका हुन् । उनीहरु पाँचै जना जग्गाधनी हुन् ।
शनिबार पक्राउ परेका उनीहरुलाई कीर्ते अभियोगमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमाथि वडाबाट घरबाटो र जग्गा वर्गीकरणको सिफारिस पत्र बनाउँदा कीर्ते गरेको आरोप छ । रतुवामाई–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर, वडा कार्यालयको छाप र लेटरप्याड कीर्ते गरेको, फर्जी चलानी नम्बर राखेर सिफारिस पत्र बनाएको पाइएको डीएसपी दाहालले बताए ।
वडाध्यक्ष ताजपुरियाले दिएको जाहेरीका आधारमा पाँच जना पक्राउ परेका हुन् । यही घटनामा अरु दुई जना फरार रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया