मंगलबार, वैशाख १६, २०८२

केपी ओली कप- आर्मीको सहज जित

नेपालखोज २०८० मंसिर ११ गते १६:३९

पोखरा । केपी ओली कप टि२० प्रतियोगितामा नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्ल्यूलाई १ सय १० रनको फराकिलो अन्तरले हराएको छ ।

जितको लागि १ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रनमा अल आउट भयो ।

आर्मीका कुशल मल्लले १.४ ओभरमा २ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । साहब आलम र जितेन्द्र मुखियाले समान दुई विकेट लिए । विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । आर्मीका विवेक यादव १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनमा नट आउट रहे ।

कुशल मल्लले २१ बलमा ३ छक्कासहित २५, रोहित पौडेल १२, बसिर अहमद २३ र सन्तोष कार्की ४१ रनमा आउट भए । कप्तान तथा ओपनर विनोद भण्डारी २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । मदन भण्डारीका मेहुल श्रेष्ठले २, धवन सहानी र सुभम खनाल र कौशल रुपाखेतीले १–१ विकेट लिए ।

समूह डी मा आर्मी, कोशी र मदन भण्डारी ब्ल्यू छन् । समूह डी को विजेताले समूह ए को विजेता बागमतीसँग सेमिफाइनल खेल्नेछ । समूह बी बाट एपिएफ सेमिफाइनलमा पुगेको छ । समूह सी बाट पुलिस र मधेश मध्य एक सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया