गुरू नानक

नेपालसंग संयोग भनौ वा गर्वका साथ भनौ सिखहरुका धर्मगुरू गुरू नानकको सम्बन्ध नेपालसंग पनि गाँसिएको छ । इतिहास कोर्नेहरुका भने केही त्रुतिहरु भेटिन्छ र पनि गुरू नानक नेपाल आएको यदि सत्य मान्ने नै हो भने इतिहासमा कोरिएका नमिल्दा तथ्यहरु या त मिलाउनु पर्दछ । या त मिथ्या हुन् भन्ने आशंका गर्नुपर्ने हुन्छ ।
इतिहासका अनुसार गुरू नानकको जन्म १५ अप्रिल १४६९ भनिएको छ । तर अचेल भने उनको जन्मजयन्ती कार्तिक पूर्णिमाका दिन मनाउने गरिन्छ, जुन नवम्वरमा पर्दछ । इतिहासकारहरुले भन्दै आएको जन्ममिति र जन्मजयन्ती मनाउँदै आएको दिन करिव ७ महिनाले फरक परेको देखिन्छ । साथै गुरू नानकको देहावसान २२ सेप्टेम्वर १५३९ मा भएको मानिन्छ । साधारण हिन्दु परिवारमा जन्मेका गुरू नानक सिख धर्मालम्बीहरुको पहिलो धर्मगुरूका रुपमा लिने गरिन्छ । साथै सिख धर्मका प्रवर्तक पनि गुरू नानक नै हुन् ।
गुरू नानक नेपाल आएको मानिन्छ । काठमाडौ बालाजु निर विष्णुमति नजिकै नानक मठ रहेको छ । जहाँ गुरु नानकले ध्यान गरेको मानिन्छ । तर गुरू नानकको नेपाल आगमनको समयमा नेपालमा राजा जयजगत मल्लको शासनकाल रहेको भनेर लेखिएको छ । जयजगत मल्लको शासनकालसंग गुरू नानकको जीवित समयकाल भने मिल्दैन ।
गुरू नानकको काठमाडौं आगमनको समय सन १५१६ भनिएको छ । जुन बेला काठमाडौं उपत्यकामा राजा रत्न मल्ल राजा थिए । तर जयजगत मल्लको शासनकाल भने १७२२-१७३६ रहेको थियो । यसर्थ करिव २०० वर्षको भिन्नता देखिन्छ ।
अर्को तथ्य नेपालका राजाले बनारसमा गुरू नानकसंग भेट भएको तथा छोरा जयप्रकाश मल्लको उपचारका लागि बनारस पुगेको समय गुरू नानकको आशिर्वादले विमारी निको भए पछि गुरू नानकलाई नेपाल आउन निम्तो दिएको भन्ने लेखिएको छ । यहाँ इतिहास अलि गलत किसिमले ब्याख्या गरेको पाइन्छ ।
राजा जयप्रकाश मल्लको समयमा नेपाल आएका नानक गुरू नानक होइनन् । त्यसबेलाको ताम्रपत्रका अनुसार मायाराम नानकलाई राजा जयप्रकाश मल्लले २२ रोपनी धानखेत बिर्ता बापत दिएको देखिन्छ । जयप्रकाश मल्लको समयमा गुरू नानक होइन मायाराम नानक नानकशाहीमा रहेका थिए । त्यसबेलाको ताम्रपत्रमा उल्लेख भएको नानकशाही नै अहिले भनिने नानक मठ हो । साथै यस ताम्रपत्रका अनुसार नानक भनिने कुनै ब्यक्ति वा महन्त होइन नानक सम्प्रदायको नाम भन्ने देखिन्छ ।
बिभिन्न सम्प्रदाय झै नानक पनि एक उदासी सम्प्रदायको एक हिस्सा नै रहेको भन्ने बुझिन्छ । यस्तै राजा सुरेन्द्रको शासनकालमा महन्त रामदास नानक थिए । राजा जय जगत मल्लले नानक संगतका नाममा ५३ रोपनी खेत बिर्ता दिएका थिए । यहि बिर्तालाई पछि पून नियमित गरिँदा सुरत नानक महन्त थिए । यसको मिति भने बिक्रम सम्वत मार्ग सुदी ५, १८९२ लेखिएको छ । पछि श्री ३ वीरशम्शेरको शासनकालमा वि.सं. १९५३ मा राज गुठीमा सारिएको थियो । त्यतिबेला महन्त भने नारायणदास रहेका थिए ।
यस्तै विष्णुमती किनारमा शोभाभगवती नजिकै साढे २७ रोपनी जग्गा राजा गिर्वाणको समयमा मिति बिक्रम १८५७ जेष्ठ शुदी ५ मा सर्वाङ्ग माफी फकिराना बिर्ताका रुपमा दिइएको थियो । त्यसबेला संगत स्थापनाका लागि विराजमान नानक तथा वसन्तदास नानकका नाममा दिइएको थियो । त्यस्तै फकिराना बिर्ताकै रुपमा रहेको हालको सिंहदरबार क्षेत्रमा रहेको २५ रोपनी जग्गा भने श्री ३ चन्द्रशम्शेरले सिंहदरबार बनाउनका लागि लिएका थिए ।
यसरी हेर्दा अहिले गुरू नानकका नाममा नेपालमा उपस्थितीका बिषयमा लेखिएका इतिहासहरुमा त्रुति भेटिन्छ । वास्तविक रुपमा गुरू नानक सन १५१६ अर्थात वि.सं. १५७३ मा नेपाल आएका हुन सक्छन् । तर अहिले रहेका गुरू नानकसंग जोडेर लेखिएका इतिहासहरु भने नानक पन्थका अरु नै ब्यक्तिका नाममा जोडिएको इतिहास रहेको हुँदा गुरू नानकका अनुयायीहरुले नानक पन्थ शुरु गरेको पनि हुन सक्छ । जबकी गुरू नानक शुरुमा तेश्रो उदासीका रुपमा नेपाल आएका थिए । पछि भारतमा पुगेर उनले सिख धर्मको शुरुवात गरेका थिए । तर उनका जेठो छोरा श्रीचन्द भने उदासी सम्प्रदायमा नै रहेका थिए ।
हिन्दू धर्ममा रहेका कतिपय कुरीतिहरुको बिरोध गर्दै नयाँ धर्मको शुरुवात गरे । उनि हिन्दू नै थिए तर हिन्दू भित्र नै सिख सम्प्रदायको शुरुवात गरे । विवाह गरि दुइ छोराको जन्म भइसकेपछि भने उनि आफ्ना चार साथीहरुका साथ उदासी सम्प्रदायमा लागेर भ्रमणमा निस्केका थिए ।
नेपाल सरकारले पनि गुरु नानकको सम्मानमा २०७६ सालमा ५५० औं जन्मजयन्तीका अवसरमा २५००, १००० तथा १०० का सिक्काहरु निष्काशित गरेको थियो ।

प्रतिक्रिया