बुधबार, वैशाख १९, २०८१

राष्ट्र बैंकले बैकिङ प्रणालीमा चार अर्ब रुपैंयाँ भन्दा बढी संस्थागत निक्षेप राख्ने

नेपालखोज २०८० मंसिर १७ गते १४:२७

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा चार अर्ब रुपैंयाँ भन्दा बढी संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकको पेन्सन तथा उपदान कोष अन्र्तगत रहेको तीन अर्ब तीन करोड र अवकाष कोष अन्र्तगत रहेको एक अर्ब ३६ करोड ८० लाख रुपैंयाँ समेत गरी कुल चार अर्ब ३९ करोड ८० लाख रुपैंयाँ बराबरको संस्थागत निक्षेप लगानी गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार यि दुबै निक्षेप लगानी गर्नको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १९ गतेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर आवेदन दिनु पर्ने छ । यि दुबै शीर्षकको रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात वि.सं २०८० पुस एक देखि वि.सं २०८१ पुस एक गते सम्म तोकिएको छ ।

लगानी गरिने कुल रकम मध्येमा पेन्सन तथा उपदान कोष अन्र्तगतको तीन अर्ब तीन करोड रुपैंयाँ मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ४२ करोड ४० लाख, बिकास बैंकहरुको लागि ४५ करोड ४५ लाख र फाईनान्स कम्पनीहरुको लागि १५ करोड १५ लाख रुपैंयाँ छुट्याईएको छ ।

यसैगरी अवकाष कोष अन्र्तगतको एक अर्ब ३६ करोड ८० लाख रुपैंयाँ मध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब नौं करोड ४४ लाख, बिकास बैंकहरुको लागि २० करोड ५२ लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ८४ लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएकाछन ।

प्रतिक्रिया