आइतबार, असार १५, २०८२

दलले कामको चिन्ता गर्ने हो, निर्वाचन होइन : महामन्त्री शर्मा

नेपालखोज २०८० मंसिर २० गते ६:१९

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा भएको बताएका छन् । अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेस बाजुराद्वारा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए । ‘दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ’, महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई र उक्त पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा देश बनाउने भिजन अबको १५ वर्षभित्रमा बनाउन आग्रह गरे ।

उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘विद्यार्थीले पढाइमा चिन्ता गर्ने हो, परीक्षाको होइन । जसले परीक्षाको चिन्ता गर्छ त्यो अब्बल विद्यार्थी होइन ।’ रासस

प्रतिक्रिया