भारतमाथि पाकिस्तानको सानदार जित

एजेन्सी । शीर्षक्रमका ब्याटर आजन अवैसको शतक र मोहम्मद जिशानको उत्कृष्ट बलिङमा पाकिस्तानले एसिसी यू१९ एसिया कपमा भारतमाथि ८ विकेटको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै पाकिस्तान सेमिफाइनलमा पुग्न औपचारिकता बाँकी छ ।
जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजनले १ सय ३० बलमा १० चौकासहित १ सय ५ रनमा अविजित रहे । कप्तान साद बेग ५१ बलमा ८ चौका र १ छक्कासहित ६८ रनमा नट आउट रहे ।
तेस्रो विकेटका लागि साद र आजनले १ सय १५ बलमा १ सय २५ रनको अविजित साझेदारी गरे । ओपनर श्यामुयल हसन ८ रनमै आउट भएका थिए ।
दोस्रो विकेटका लागि शहजैब खान आजनले १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए । खान ८८ बलमा ४ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । भारतको दुबै विकेट अभिषेक मुरुगनले लिएका थिए ।
त्यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–१ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको थियो ।
भारतका कप्तान उदय शहरनले ९८ बलमा ५ चौकासहित ६० रन बनाए । आर्दश सिंह ८१ बलमा ४ चौका र १ छक्कासहित ६२ रनमा आउट भए । सचिन दासले ४२ बलमा २ चौका र ३ छक्कासहित ५८ रन बनाएका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।
पाकिस्तानका मोहम्मद जिशानले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ४ विकेट लिए । जिशानले नेपालविरुद्ध ६ विकेट लिएका थिए । अमिर हसन र उबेद शाहले समान दुई विकेट लिए ।
भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको थियो । मंगलबार भारतले नेपालसँग खेल्नेछ । पाकिस्तानले सोहि दिन अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया