इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या १८ हजार बढी

काठमाडौं । इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालिस्टीको संख्या १८ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन् । गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश गरेपछि आक्रमण थप तीव्र बनेको छ।
इजरायली ट्याङ्क विस्तारै खान युनिसको पूर्वी क्षेत्रतर्फ बढिरहेको बताइएको छ । यस क्षेत्रमा ठूला भवन, पसल र घना बस्ती छन् । साथै खान युनिसमा अझै पनि मानिसहरूको बसोबास कायमै रहेको छ ।
इजरायली सेनाले आइतबार बिहानै पम्प्लेट छर्दै खान युनिसमा बसोबास गरिरहेका नागरिकलाई अल–मवासी नामक क्षेत्रतर्फ जान भनेको छ। तर अल–मवासी निकै साँघुरो र आधारभूत सेवा नभएको क्षेत्र भएकाले सर्वसाधारण चिन्तामा छन्।
इजरायली सेनाले खान युनिसलाई लक्षित गरी आक्रमणलाई तीव्र बनाउँदै गर्दा मृत्यु हुने र घाइते हुनेको संख्या थप बढ्ने हुँदा संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया