शुक्रबार, वैशाख ७, २०८१

बन्न थाल्यो बालबालिकालाई दिइने भ्याक्सिन, कहिले आइपुग्ला नेपाल ?

नेपालखोज २०७८ असोज २६ गते २०:०६

नयाँदिल्ली । भारतमा केन्द्रीय सरकारका निकायहरुले २ देखि १८ वर्ष सम्मका बालबालिकाहरुलाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोपलाई प्रयोगात्मक अनुमति प्रदान गर्ने प्रक्रिया अघि बढाएका छन् ।

सीडीएससीओ (Central Drugs Standard Control Organisation) को सब्जेक्ट एक्सपर्ट कमिटीले भारत बायोटेकद्वारा निर्मित को-भ्याक्सिनलाई स्वीकृति प्रदान गर्न ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) समक्ष सिफारिस गरेको छ ।

२ देखि १८ वर्षका बालबालिकाहरुलाई दिइने को-भ्याक्सिनको दुई डोज २८ दिनको फरकमा लगाउनुपर्नेछ । समाचारमा बताइएअनुसार, यो भ्याक्सिनले इम्युन सिस्टम डेभलप गर्नेछ भने यसको कुनै साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिन प्री-फिल्ड सिरिन्ज अर्थात् पहिले नै भरिएको सिरन्जमार्फत उपलब्ध गराइनेछ जसमा ०.५ एमएल औषधि हुनेछ । यो उमेर समूहका बालबालिकालाई आवश्यकभन्दा बढी औषधिले समस्या उत्पन्न गर्न सक्ने भएकाले एकपटक प्रयोग गरेपछि फ्याँक्ने खालको फिक्स सिरिन्ज उपलब्ध गराउन लागिएको बताइएको छ ।

कोरोनाविरुद्धको यो खोपको तेस्रो चरणको प्रयोग हालै मात्र सफलतापूर्वक सम्पन्न भएको थियो । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय जान नपाइरहेको सन्दर्भमा यो एउटा ठूलो राहतको खबर हो ।

यसअघि, अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले पनि ५ देखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्न सकिने कोरोनाविरुद्धको आफ्नो भ्याक्सिनलाई आपत्‌कालीन प्रयोगको अनुमति प्रदान गर्न अमेरिकी ड्रग्स रेगुलेटर फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनसमक्ष अनुरोध गरेको छ ।

कोरोनाविरुद्धका यी खोप नेपाल ल्याउन समयमै सरकारले प्रयास प्रारम्भ गरी बालबालिकाहरुको स्वास्थ र शिक्षाको अधिकार सुनिश्चित गर्नु अबको अर्को प्राथमिकता थपिएको छ ।

प्रतिक्रिया