बिहीबार, जेठ ३, २०८१

जंगली जीवजन्तुबाट फैलने रोगबाट प्रत्येक वर्ष ३३ लाखको मृत्यु

नेपालखोज २०७८ माघ २९ गते ७:५७

काठमाडौं । जुनोटिक बिमारी जस्तो एड्स, इबोला, जीका, कोभिड-१९ आदिले संसारमा प्रत्येक वर्ष करिब ३३ लाख मानिसको ज्यान लिन थालेको छ । यी ती रोग हुन जुन जंगली जीवबाट मानिसमा फैलिरहेको छ । एक हिसाबले हेर्ने हो भने यी रोग फैलनुमा धेरै हदसम्म मानिस आफैं पनि जिम्मेवार छ । मानिसले यी जीवको प्राकृतिक आवास नष्ट गरेर उनीहरुलाई मानिसमा फैलन बाध्य तुल्याएको छ ।

यस विषयमा हालै गरिएको एक शोधअनुसार यस्ता जुनोटिक रोगहरुलाई रोक्ने खर्च यिनलाई नियन्त्रित गर्ने खर्चको तुलनामा धेरै कम हुन्छ । यस्तोमा यी रोग फैलनुअघि रोक्नु निकै महत्त्वपूर्ण हुन्छ । त्यसै पनि सुरक्षा वा जोगिनु नै कुनै पनि रोगको सबैभन्दा राम्रो औषधि हो ।

यो शोधमा वैज्ञानिकहरुले यो शताब्दीमा मानिसमा भार भएर आएका सबै प्रमुख जुनोटिक रोगको लेखाजोखा गरेका छन् । अनुमानअनुसार यस्ता रोगले बितेका करिब सय वर्षमा करिब सात करोड मानिसको ज्यान लिइसकेको छ जसमा स्पेनिस इन्फ्लुएन्जा प्रमुख छ । यो रोगका कारण कारण १९१८ मा पाँच करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । यसैगरी एच २ एन २ इन्फ्लुएन्जाबाट ११ लाख, लासा ज्वरोबाट २.५ लाख, एड्सबाट १.७ करोड, एच वान एन वानबाट २.८ लाख तथा कोरोना भाइरसबाट ५५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जनावर तथा पक्षीबाट मानिसमा फैलने रोगलाई वैज्ञानिकहरु जुनोसिस वा जुनोटिक डिजिज भन्छन् ।

बितेका सय वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष करिब दुई भाइरस आफ्नो प्राकृतिक वातावरणबाट बाहिर आएर मानिसमा फैलिरहेको छ भने प्रकृतिको विनाशको बढ्दो क्रमले यस्ता भाइरस थप फैलने खतरा अझ बढाइरहेको छ ।

शोधकर्ताहरुका अनुसार बितेका ५० वर्षमा चार प्रमुख जुनोटिक डिजिज कोभिड-१९, इबोला, सार्स तथ एड्सले मानिसलाई ठूलो स्तरमा दुस्प्रभावित गरे । कोरोना, सार्स तथा इबोलाजस्ता रोग उत्पन्न गराउने भाइरस चमेरामा पाइएको छ । खासगरी अँध्यारा जंगलमा बसोबास गर्ने चमेराले कुनै महामारी फैलाउँदैनन् तर जसरी उनीहरुको आवासलाई नष्ट वा प्रभावित गरिएको छ त्यसपछि चमेरामा पाइने भाइरस मानिसमा सर्न थालेको हो ।

शोधकर्ताहरुका अनुसार उष्णकटिबन्धीय वनको विनाश रोकेर मानिस र वन्यजन्तुबीचको सम्बन्धमा सुधार ल्याउन सकिन्छ । मानिसले खेती वा अन्य उद्देश्यले २५ प्रतिशतभन्दा बढी उष्णकटिबन्धीय वनको विनाश गरिसकेका छन् । यसका साथै मानिसले अन्तर्राष्ट्रिय स्तरमा जसरी वन्यजीवक‍ो तस्करी तथा सिकार गरिरहेक‍ो छ । त्यसलाइ बन्द गर्नुपर्ने आवश्यकता छ भने जंगली जनावरको मासुको व्यापार पनि रोक्नुपर्नेछ । शोधकर्ताहरुले संसारभर जंगली तथा घर पालुवा जनावरमा फैलने रोगहरुमा निगरानी तथा नियन्त्रण बढाउनुपर्ने कुरामा समेत जोड दिएका छन् ।

संसारका २१ वटा प्रसिद्ध संस्थाहरुसँग आबद्ध वैज्ञानिक, महामारी विज्ञ, अर्थशास्त्री, पारिस्थितिविद तथा संरक्षण जीवविज्ञानिहरुद्वारा गरिएको यो अध्ययनअनुसार कोभिडका कारण जति वार्षिक क्षति र खर्च भएको त्यसको केवल पाँच प्रतिशत खर्च गरेर यस्ता जुनोटिक महामारीको जोखिम आधा कम गर्न सकिन्छ ।

यसअघि जर्नल साइन्समा प्रकाशित एउटा अर्को शोधले कोभिड-१९ का कारण भएको क्षतिको केवल दुई प्रतिशत खर्च गर्ने हो भने भविष्यमा महामारीहरुबाट सुरक्षित रहन सकिने कुरा देखाएको थियो । शोधअनुसार आउने १० वर्षमा वन्यजीव तथा वनको रक्षाका लागि ३२ लाख करोड रुपैयाँ खर्च गर्ने हो भने भविष्यमा कोरोना भाइरस जस्तो महामारीबाट संसारलाई जोगाउन सकिनेछ ।

पर्यावरण संरक्षण तथा प्रारम्भिक चरणमै रोगमाथि निगरानी गरेर यो लक्ष्य हासिल गर्न सकिन्छ । जर्नल साइन्स एड्भान्सेजमा प्रकाशित यो शोधअनुसार उक्त निवेशबाट प्रत्येक वर्ष जुनोटिक रोगबाट हुने १६ लाख मृत्यु टार्न सकिन्छ भने वार्षिक एक हजार लाख करोड रुपैयाँबराबरको नोक्सान रोक्न सकिन्छ ।

यो शोधमा शोधकर्ताहरुले तीन प्रमुख कुरामा जोड दिएका छन् जसमा जंगलको विनाश रोक्ने, वन्यजीवको सिकार तथा व्यापार राम्रोसँग नियन्त्रण गर्ने एवं वन्यजीवजन्तुमा भाइरसको निगरानी सामेल छ । यसबाट महामारीको जोखिम कम हुने मात्र नभएर जलवायु परिवर्तनबाट उत्पन्न संकट तथा जैविकविविधताको हानि-नोक्सानीसमेत रोक्न मद्दत मिल्ने विज्ञहरुको राय छ ।

प्रतिक्रिया