सोमबार, वैशाख १५, २०८२

नेपाल सुपर लिग :  धनगढी शीर्ष स्थानमा

नेपालखोज २०८० मंसिर २८ गते १९:३९

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी फुटबल क्लबले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आफिज ओलावालले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

रोहन कार्कीले राइट साइडबाट निकालेको पासलाई आफिजले पोस्टको दिशा दिएका हुन् । प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा चितवनले धनगढीविरुद्ध तीन महत्वपूर्ण अंक गुमाएको हो ।

पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्न सुन्दर अवसर गुमायो । रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गरेको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाउँदै सम्भावित बराबरीबाट टिमलाई जोगाए ।

जितसँगै धनगढी ५ खेलबाट ३ जित र २ बराबरीका साथमा ११ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिन सफल भयो। चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया