कथा मूलाको

नेपालमा कहिले देखि तरकारीका रुपमा मूलाको शुरुवात भयो भन्ने तथ्य वा इतिहास भेटिदैन । तर राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्कदा प्यूठाने मूला भनेर चिनिने रातो मूलाको बिउँ लिएर आएका थिए ।
सेतो मूला भने चीनबाट भित्रिएको अनुमान गरिन्छ । चीनमा मूलालाई औषधीय गुणले भरपुर भएको तरकारीका रुपमा इशापूर्व ७७१ देखि नै यसको खेति गर्न थालिएको जानकारी भेटिन्छ । राजकीय खाद्यान्नका रुपमा परिचित यो तरकारी भोजनको सबैभन्दा पहिले प्रस्तुत गरिन्थ्यो । यूरोपमा भने सौह्रौ शताव्दी पछि ब्यापक रुपमा प्रचार भएको देखिन्छ ।
चीनमा खोकी लागेमा काँचो मूला खाएमा निको हुने तथा जाडो मौसममा खसीको मासुसंग पकाएर खाएमा फोक्सोको बिरामीहरुलाई निको हुने विश्वास गर्दछन् । साथै दुधसंग पकाएर खाँदा मधुमेहको रोगीहरुलाई राम्रो हुने पनि कथन छ । खकार जम्ने तथा स्वास फेर्न कठिन हुनेहरुलाई समेत मूलामा जडीबुटी मिसाएर खुवाउने गरिन्छ ।
चीनमा मूलालाई औषधीय गुणले भरिएको तरकारीका रुपमा अझै पनि प्रयोग गर्ने गरिन्छ । मूलामा धेरै औषधीय गुण हुने हुँदा यसलाई पकाएर खानु भन्दा काँचो खानु धेरै उपयुक्त रहेको तथ्य चीनिया तथा जापानी बैज्ञानिकहरुले समेत पत्ता लगाएका छन् ।
खासगरि जाडो मौसममा उत्पादन हुने सेतो मूला जाडोको लागि नै धेरै उपयुक्त रहेको तथ्य जापानी पोषणविदहरुले देखाएका छन् । काँचो मूलालाई पिसेर खाँदा अझ बढि फाइदा दिने जानकारी दिने गर्दछन् । खाना सहज पचाउन तथा दिसा सहज गराउन समेत मद्दत गर्ने हुँदा यसले पेट र आन्द्रा सम्बन्धी समस्यालाई पनि निराकरण गर्ने तथ्य पनि दिएका छन् । यसमा अत्यधिक मात्रामा भिटामिन सी हुने हुँदा छालाको समस्याबाट जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा बुढ्यौली देखिनबाट समेत जोगाउन मद्दत गर्ने तथ्य दिएका छन् ।
यी त भए चीनिया तथा जापानी पोषणविदहरुले दिएका तथ्यहरु नेपालका सम्बन्धमा भने यसले खानेकुरा पचाउनमा मद्दत गर्ने भएको हुँदा नेवाः भ्वेँ तथा अन्यले भोजनको समय मूला पनि खानाको साथ दिने गरिन्छ । अन्य उपयोगीताहरुको बारेमा भने खासै चर्चा गरेको पाइदैन ।
राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किए पछि नेपालमा पनि उन्नत किसिमले तरकारीको उत्पादनमा बिशेष चासो देखाएका थिए । उनले बेलायतबाट फर्केर आउँदा केही तरकारीका बिऊ पनि लिएर आएका थिए । जङ्गबहादुरले ल्याएको त्यसबेलाका प्रमुख तरकारीहरुमा काउली, बन्दागोभी, प्याज, सलगम तथा केही अन्य थिए । अन्य मौसमी तरकारीहरुमा रातो मूला, रायो, फर्सी, लौका, तरुल, सिमी, बोडी, कर्कलो पनि ल्याएका थिए । यसरी ल्याइएका यी तरकारीहरु राणा परिवारबाट बिस्तारै दरवारका कर्मचारी हुँदै आम नेपालीहरुका घर घरमा लोकप्रिय हुन थाल्यो ।
दोश्रो पटक श्री ३ चन्द्र शम्शेर बेलायत पुग्दा भने बिऊबिजन मात्रै होइन त्यहाँबाट बिज्ञहरु पनि झिकाएर उन्नत खेतीका लागि वि.सं. १९७८ मा चारखालमा कृषि अड्डाको गठन गरेका थिए । वि.सं. १०८४ मा कृषि अड्डाको नाम परिवर्तन गरेर कृषि विभाग बनाइयो । साथै समय समयमा सिंहदरवार परिसरमा नै उन्नत खालका उत्पादनहरु प्रदर्शन तथा बिउविजनको लागि कृषि प्रदर्शनी समेत लगाउने गरेका थिए ।
२००४ सालमा ककनी तथा परवानीपुरमा कृषि फार्मको स्थापना भयो । यसरी देशमा प्रजातन्त्र आए पछि वि.सं. २००९ सालको अन्ततिर मनास्लु हिमाल आरोहणका लागि आएका जापानी पर्वतारोहण टोलीले ह्याइट नेक जातको मूलाको बिउ ल्याएर वितरण गरेका थिए । यो उन्नत मूलाको बिउसंगै आधुनिक मूला खेतिको शुरुवात भएको थियो ।
२००९ सालमा नै अमेरिकी सहयोग संस्था यूएसओएमका प्रमुख पाउल रोजको पोखरा भ्रमण पछि पोखरामा ब्यापारको सम्भावनाको विषयमा अध्ययन गर्यो । २०१५ मा यूएसओएमबाट भएको यस अध्ययनको प्रतिवेदन Market Survey Report of Pokhara अनुसार पोखरामा कृषिको प्रचुर सम्भावना देखिए पछि पोखरामा कृषिको अनुसन्धानका लागि वागवानी खोल्न सहयोग गर्ने पक्का भयो । यसका लागि भारतीय विज्ञहरुलाई पोखरा खटाइयो । २०२० सालमा पोखरामा पोखरा वागवानी केन्द्र खुल्यो । यसले यस क्षेत्रको जलवायु अनुकुलका खेतिहरुको अध्ययन थाल्यो ।
यहाँ राखिएको तस्विर २०२३ सालमा पोखराको वागवानीले गरेको कृषि प्रदर्शनीमा प्रदर्शित तरकारीको हो । यहाँ राखिए झै पोखरामा मूलाको उत्पादनमा वागवानीले निकै सहयोग गरेको थियो । हामी सानो हुँदा वागवानी केन्द्रसंग हाम्रो स्कुल थियो । हामी वागवानीबाट मूला किनेर घर लिएर आउँथ्यौ । त्यतिबेला मूलाको साग खाने गरिदैनथ्यो । त्यसैले हामीले किनेको मूलाबाट साग चुडालेर बाटोमा गाईलाई दिन्थ्यौ र मूला मात्रै बोकेर घर जान्थ्यौ । त्यतिबेला मूला ५० पैसा वा ७५ पैसा किलोको पर्दथ्यो ।
वि.सं. २०१० सालमा स्थापित त्रिभुवन ग्राम विकास कार्यक्रम मुख्य रुपमा कृषि उत्पादनको प्रसारमा नै केन्द्रित थियो । जसको कारणले नै कीर्तिपुर वागवानी केन्द्र, गोदावरी मत्स्य विकास केन्द्र, पोखरा वागवानी केन्द्र, खुमलटार कृषि फर्म, पोखरा मत्स्य विकास केन्द्रहरुको स्थापना भएको थियो । यसरी त्यो बेला कृषिलाई प्राथमिकता दिएर धेरै कार्यक्रमहरु आए पनि पछि भने खासै महत्वका साथ काम भएन । त्यतिबेला उत्पादित खाद्यान्न निर्यात हुन्थ्यो । तर अहिले हामी पूर्णरुपमा परनिर्भर भयौ ।
यहाँ तस्विरमा २०२३ सालमा पोखरा वागवानी केन्द्रमा उत्पादित ग्रीन नेक, जापानी ह्वाइट नेक, तथा चाइनीज मूलाहरु प्रदर्शित गरिएको छ । केही स्वायसका प्रकार र गाजर पनि प्रदर्शनीमा राखिएका छन् ।
प्रतिक्रिया