ढिके नुनबाट टाढिँदै बझाङी

नेपालखोज २०८० पुष ६ गते ९:२४

चैनपुर (बझाङ) । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ ।

च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् । विगत सम्झँदै उनले भने, ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।’

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,’ उनले भने । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । ‘बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।’

वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । ‘आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन । क्या हो, क्या हो !’

प्रतिक्रिया