बिहीबार, जेठ २, २०८२

त्यो नेपाल र आजको नेपाल !!

सुनिल उलक २०८० पुष ७ गते १२:२०

तस्विरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्विरमा दाँया तर्फ ठिङ्ग उभिएको धरहरा तथा सो संगैको बागदरवार स्पष्ट देख्न सकिन्छ । करिव बिचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको संगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बिचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडी पनि एउटा अर्को इतिहास लुकेको छ ।

जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा वि.सं. १९४० मा एउटा घटना घट्यो । प्रत्येक वर्ष झै त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भएको थियो । नेपालका नेवाः ब्यापारीहरु पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए । त्यहाँ दुइ तिब्बती महिलासंग एक नेवाः ब्यापारीको साधारण झगडा भयो । तर त्यो झगडाले केही बेरमै बिकराल रुप लियो ।

सयौ तिब्बती मिलेर नेवाः ब्यापारीहरुको ८४ पसलका मालसामान लुट्ने तथा जलाउन थालियो । हुन त त्यो घटनामा कसैको पनि हताहत भएन । सो घटनाले नेवाः ब्यापारीहरुलाई ठूलो नोक्सानी भयो । यसलघटनाको सम्पूर्ण जानकारी नेपाल सरकार सम्म पुग्यो ।

नेपाल सरकारले तुरुन्तै तिब्बत सरकारलाई धम्कीपूर्ण भाषामा ति ब्यायारीलाई १५ लाख रुपैया क्षतिपूर्ती तथा दोषीलाई कारवाहीको माग राख्यो । यसको लगत्तै प्रधानमन्त्री रणोद्वीप सिंहले भारदारी सभा बोलाएर तिब्बत संग युद्ध गरेमा देशले के कति नाफा वा घाटा हुने बिषयमा छलफल पनि थाल्यो ।

उता तिब्बत सरकारले नेवाः ब्यापारीहरुलाई क्षतिपूर्ती दिन नसकिने जानकारी पठायो । यता राज्यकोषबाट ४० लाख निकालेर युद्धको तैयारी थाल्यो । ४५ हजार सैनिक (त्यसबेला भरिया, भान्से, सहयोगी तथा साथ लागेका परिवारलाई पनि सैनिकमा गणना गरिन्थ्यो) ७०० घोडा तथा २००० खच्चर सहितको युद्ध टोली तैयार भयो ।

तिब्बत र नेपाललाई नजिकबाट नियालिरहेको चीनले १९४० को पौषमा दुइ बिच मध्यस्तता गर्न थाल्यो । अन्तत तिब्बत सरकारले तत्कालै ६ लाख आफ्नै राज्यकोषबाट र ४ लाख चीन सरकारसंगको ऋणबाट नेपाल सरकारलाई १० लाख बुझायो । यसरी अचानक भएको युद्धको सम्भावना टर्यो ।

यहाँ तस्विरमा यहि युद्धको तैयारी समय टुँडिखेलको खुला मैदानमा २२ बटालियन सैनिक युद्को तैयारीको लागी जम्मा भएको दृश्य हो यो ।

प्रतिक्रिया