बुधबार, जेठ २, २०८१

ओनिम्सद्वारा विशेष अभियान

नेपालखोज २०८० पुष १६ गते २०:१२

कीर्तिपुर । गणितज्ञ महिलाहरुको छाता संस्था ‘गणित विज्ञानमा नेपाली महिला’ (ओनिम्स) ले विद्यालयदेखि विश्वविद्यालयसम्मका विभिन्न तहमा गणित पढाइरहेका महिलालाई अध्ययन, अनुसन्धान र प्राज्ञिक खोजतर्फ प्रेरित गर्न विशेष अभियान थाल्ने भएको छ ।

संस्थाको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले यससम्बन्धी कार्ययोजना पारित गरेको थियो । कार्ययोजनाअनुसार संस्थाले गणित विषय र गणित शिक्षाको आवश्यक प्रचारप्रसार गरी महिला विद्यार्थीलाई गणितको अध्ययन र अनुसन्धानतर्फ आकर्षित गर्न ‘स्टुडेन्ट स्टुडेन्ट स्टिम क्लब’ स्थापना गरी ज्ञानवद्र्धक र प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ । यसैगरी, सार्वजनिक र निजी विद्यालयसँग गणितका पाठ्यक्रमको उपयोगिता, प्रश्नपत्र तथा गणितका अन्य शैक्षिक सामग्री निर्माण र यसको प्रयोगसम्बन्धी छलफल कार्यक्रम सञ्चालन गर्ने योजना पनि संस्थाको छ ।

यसका साथै अन्तरराष्ट्रिय स्तरका गणित शोध र अनुसन्धानलाई तीव्रता दिँदै जाने र स्थानीय सरकारहरुसँग समेत सहकार्य गरी गणितीय अनुसन्धान अघि बढाउने योजनासमेत अधिवेशनले पारित गरेको छ । साथै गणितमा महिलाको सशक्त सहभागिताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका एक ÷एक गणित सम्मेलन गर्ने, गणित अध्ययनमा महिला छात्रवृत्तिका लागि पहल गर्ने योजना पनि अधिवेशनले पारित गरेको छ ।

गणितको क्षेत्रमा अन्तरराष्ट्रिय स्तरको खोज अनुसन्धानका अवसर उपलब्ध गराउन यो कार्ययोजना निर्माण गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले दिनुभयो ।

अधिवेशनले आगामी तीन वर्षका लागि सहप्राध्यापक थापाको अध्यक्षतामा ११ सदस्यीय ओनिम्स कार्यसमितिसमेत निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित उक्त कार्यसमितिको उपाध्यक्षमा डा कविता लुइँटेल, सचिवमा सहप्राध्यापक तारा पौडेल, सहसचिवमा डा गौरी भुजु र कोषाध्यक्षमा उपप्राध्यापक सरला लुइँटेल हुनुहुन्छ । यसैगरी, सदस्यहरुमा रचना जोशी, राधादेवी श्रेष्ठ, डा शर्मिला श्रेष्ठ र डा रुमा मानन्धर सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको विधानअनुसार बाँकी दुई सदस्य नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले गर्ने जानकारी पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा भद्रमान तुलाधरले ओनिम्स बुलेटिन पहिलो अङ्कको विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया