बिहीबार, वैशाख २०, २०८१

माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मरले बसी बसी कमाउने भए वार्षिक १ अर्ब डलर

नेपालखोज २०८० पुष १८ गते ८:१६

माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मरले कम्पनीबाट वार्षिक रुपमा १ अर्ब डलर लाभांश प्राप्त गर्ने भएका छन्। हाल विश्‍वकै धनी व्यक्तिहरुको सूचीमा छैटौँ नम्बरमा रहेका बाल्मरले टेक जायन्ट माइक्रोसफ्टको सेयरधनीका नाताले २०२४ बाट उक्त डिभिडेन्ट पाउने भएका हुन्।

माइक्रोसफ्टले आफ्नो त्रैमासिक लाभांश बढाएर प्रति सेयर ७५ सेन्ट पुर्‍याउने निर्णय गरेसँगै उनको कमाइ बढेको हो। जसअनुसार माइक्रोसफ्टका सेयरधनीले प्रति सेयर करिब ३ डलर वार्षिक लाभांश पाउने सीएनएनले उल्लेख गरेको छ।

बाल्मरसँग माइक्रोसफ्टको ४ प्रतिशत अर्थात ३३ करोड ३२ लाख कित्ता सेयर छ। माइक्रोसफ्टको स्टक मूल्य ५६ प्रतिशतले बढेसँगै यस वर्ष मात्रै उनको सेयरको मूल्य बढेर करिब १ खर्ब ३० अर्ब डलर पुगेको छ। जसले गर्दा यस वर्ष मात्रै उनको सम्पत्ति ४४ अर्ब डलर थपिएको छ।

गत अक्टोबरमा ब्लुमबर्ग बिलियनर इन्डेक्सको विश्‍वकै धनी व्यक्तिहरुको सूचीमा बाल्मर पाँचौँ नम्बरमा थिए।

बाल्मर सन् १९८० मा बिल गेट्सको असिस्टेन्टका रूपमा माइक्रोसफ्टसँग जोडिएका थिए। यद्यपि, उनले असिस्टेन्ट कम र व्यापार प्रबन्धकको भूमिका बढी निभाए। उनी सन् २००० मा माइक्रोसफ्टको सीईओ बने भने सन् २०१४ मा राजीनामा दिए।

प्रतिक्रिया