तराईमा बढ्दै चिसो, जनजीवन प्रभावित

काठमाडाैं । वीरगन्ज लगायत तराई क्षेत्रमा गुणात्मक रूपमा बढ्दै गएको चिसोको कारण जनजीवन प्रभावित भएको छ । यहीँ पुस १५ गते देखि सुरु भएको हुस्सुको कारण तराईमा चिसो बढ्दै गएको हो ।
तराईका जिल्लामा क्रमशः कठ्याङ्ग्रिने चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुस्सु र चिसो हावा चल्दा अति विपन्न वर्गलाई विभिन्न समस्या भएको छ । केही दिन देखि लगातार रूपमा बढ्दै गएको शितलहरले मध्य तराईवासीको जनजीवन कष्टकर भएको हो ।
घाम नलाग्नुका साथै चिसो हवासँगै बढ्दै गएको हुस्सुले तापक्रम झर्दै गएपछि दैनिकी जनजीवन प्रभावित हुन थालेको हो । शितलहरसँगै चल्ने चिसो हवाले हात खुट्टा कठ्याङ्ग्रिने गरेको कारण दैनिक कामकाजमा समेत समस्या हुने गरेको सर्वसाधारणको भनाई छ ।
साँझ पख केही बेर घाम लागे पनि रातभर चल्ने पश्चिमी हावाको कारण बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । लगातार बढ्दै गएको चिसोले सबै भन्दा बढी वृद्ध वृद्धा तथा बालबालिका प्रभावित भएका छन् । चिसोको कारण तराईमा बिरामीको सङ्ख्या समेत बढेको छ । चिसो छल्न सर्वसाधारण आगो ताप्नुको साथै चियाको चुस्कीले आफूलाई न्यानो बनाउने गरेका छन् ।
चिसोको कारण निमोनिया, कोल्ड डायरिया, रुगा खोकी, जरो जस्ता रोगबाट बालबालिका प्रभावित भएका छन् भने दम, पक्ष घात, प्यारालाइसिस जस्ता रोगबाट वृद्ध–वृद्धा बढी प्रभावित भएको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकहरूको भनाइ रहेको छ । चिसो बढेसँगै उपक्षेत्रीय अस्पतालका ओपिडीमा आउने बिरामीको सङ्ख्या घट्दै गएको छ भने इमरजेन्सीमा आउने बिरामीको सङ्ख्या दोब्बर वृद्धि भएको जनाइएको छ ।
चिसोबाट जोगिन न्यानो लुगा लगाउनको साथै तातो झोल पदार्थको सेवन गर्न, गराउन चिकित्सक सन्तोष यादवको सुझाव रहेको छ ।
बढ्दै गएको चिसोबाट प्रभावित भएका जिल्लावासीलाई राहत पुर्याउन स्थानीय प्रशासनले महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखलाई आग्रह गरेको छ । जिल्लामा रहेका गरिब तथा दलित वस्तिका बासिन्दा चिसोबाट बढी प्रभावित बन्ने गरेका छन् ।
चिसो हवाबाट जोगाउने वास र न्यानो कपडाको अभाव खेपिरहेका गरिब तथा दलित वस्तिका बासिन्दालाई चाँडो भन्दा चाँडो राहतको आवश्यकता भएको उनीहरूले महसुस गरेका छन् । वीरगन्ज महानगरपालिकाले नगर बासीलाई चिसोबाट जोगिन दाउरा वितरण देखि कपडा वितरण लगायत विभिन्न अभियानहरू चलाउने नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
फुसको घरमा बस्ने तथा न्यानो ओढ्ने–ओछ्याउने नभएका परिवारमा चिसोले समस्या पार्न थालेको छ । शरीर ढाक्ने न्यानो कपडा नभएका अति विपन्न परिवारहरू चिसो छल्न आगो अर्थात् घुर बालेर ताप्न थालेका छन् । -INS

प्रतिक्रिया