सोमबार, वैशाख २४, २०८१

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

नेपालखोज २०८० पुष १८ गते १७:०२

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश हुनेछ,’ उनले भने ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रकाश’ फिल्मका लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र जुम्लाका स्थानीय मीनराज आचार्यले असोज ४ गते रिट दायर गरेका थिए ।

बोर्डलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । मुद्दाको आगामी पेशी माघ ७ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया