३३ किलो सुनकाण्डका आरोपी १४ किलो सुनमा पनि जोडिए

काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् ।
उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी जारी गरिसकेको खुलेको छ ।
विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।
घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका थिए ।
प्रतिक्रिया