शनिबार, जेठ ५, २०८१

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

नेपालखोज २०८० पुष २७ गते २०:२२

डोटी । दिपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो । तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली अपरेसनको तयारीमा जुट्यो । यता अस्पतालबाटै आमाले बुहारीको अपरेसन गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् ।

छोराले भारतबाट खबर पठाए– देउता, भूतप्रेत लागेर बिरामी भएको होला । भोलि देउतालाई नसोधी केही गर्न हुँदैन ।

छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् । तत्काल अपरेसन नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झ्याउने प्रयास गरे कोही तयार भएनन् ।

‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ,’ डा। श्रेष्ठले भने, ‘तर, उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुईरचार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ । नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो ।

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेसनका लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा। श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गरे । डा। श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेसनका लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेसनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली अपरेसनको तयारीमा जुट्यो । अपरेसनअघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि ‘भ्याक्युम डेलिभरी’मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेसन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।

डा। श्रेष्ठले अस्पतालमा आउने अधिकांशले भूतप्रेत र देउता लागेकाले उपचार हुन नसकेको बताउने गरेको बताए ।

“हरेक साता एकरदुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्,” उनले भने । स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि धामीको भर पर्दा ज्यान गुमाउने निकै पीडादायी हुने उनको भनाइ छ ।

प्रतिक्रिया