शुक्रबार, असार २०, २०८२

आजदेखि कांग्रेस महासमिति बैठक

नेपालखोज २०८० फागुन ७ गते ८:१९

काठमाडौं । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौंमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका छन् ।

प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई बढो चासोका साथ हेरिएको छ ।

ललितपुरको गोदावरीस्थित सन्राईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता १ स्वतन्त्रता, न्याय र समानता ११ नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता । भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ ।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुँदैछ ।

यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउन लागिएको छ ।

‘कांग्रेस पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक छ’

बैठकमा भाग लिन झापाबाट शुक्रबार काठमाडौं आएका महासमिति सदस्य अनिलकृष्ण प्रसाईँ समयअनुसार पार्टीलाई अगाडि बढाउन स्पष्ट नीति र कार्यक्रम आवश्यक रहेको बताए ।

‘विपी कोइरालाले प्रतिपादन गरेको समाजवादको सिद्धान्त सङ्कटमा पर्दै गएको छ, यो महासमिति बैठकले वैचारिक सङ्कटप्रति चिन्तन गर्नुपर्छ’, उनले भने । कांग्रेस आफ्नो एजेण्डामा प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।

मोरङका महासमिति सदस्य एवं पूर्वसांसद भुटनीदेवी खवास महासमिति बैठकमा कांग्रेसले पार्टी र देशका लागि हित पुग्ने निर्णय गर्नुपर्ने बताए । ‘देशको पुरानो पार्टी कांग्रेसप्रति आम जनताको आशा र भरोसा छ, यसलाई पूरा गर्नका लागि कांग्रेस लाग्नुपर्छ’, उनले भने ।

ओखलढुङ्गाका महासमिति सदस्य एवं पर्यटन व्यवसायी लिलाबल्लभ दाहाल ‘काका’ देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउने खालको अर्थनीति कांग्रेस महासमिति बैठकले लिनुपर्ने बताए । ‘जनताले सरकारलाई तिरेको करलाई ‘प्रोभिडेन्ड फन्ड’मार्फत स्वास्थ्य विमामा परिणत गर्नेखालको नीति कांग्रेसले लिनुपर्छ’, उनले भने । दाहाल करको दर बढाउनुभन्दा पनि करको दरलाई घटाएर दायरा बढाउनका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले देशभित्र डलर भित्र्याउन सकिने व्यवसायलाई कर नतिर्ने नीति कांग्रेसले लिएमात्र मुलुक समृद्ध बन्ने उल्लेख गरे ।

प्रतिक्रिया