बिहीबार, वैशाख २०, २०८१

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

नेपालखोज २०८० फागुन १४ गते १०:४९

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहने छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदमार्फत् देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार र ट्रफि, द्वितीय हुनेलाई ट्रफि सहित एक लाख र तृतीय हुने टिमलाई ट्रफि सहित ५० हजार नगद प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगितामा ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाइएको छ ।

प्रतिक्रिया