सोमबार, वैशाख १७, २०८१

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

नेपालखोज २०८० फागुन १७ गते ११:४६

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग गर्नेगरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । सत्तरी प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा सङ्घीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रङ्गशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

‘यो हाम्रो सङ्कल्प थियो । आज पूरा भएको छ’, उनले भने, ‘लामो समयको अथक मेहनत, प्रयास र तत्परताले रङ्गशाला निर्माण सुनिश्चित भएको छ । यसले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको छ ।’ उनले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताए ।

प्रतिक्रिया