जडीबुटीखेतीमा किसानको आकर्षण

टीकापुर । कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन् । धान, तोरीपछिको तेस्रो बालीका रूपमा जडीबुटीखेती गर्न लागेका हुन् ।
टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट बीउ लगेर जडीबुटीखेती गरिरहेका छन् । यस वर्ष जडीबुटी कम्पनीले मेन्था तेल उत्पादन चार हजार किलो लक्ष्य राखेको छ । अहिलेसम्म ५६ लाखको तेल उत्पादन भइसकेको कम्पनीले जनाएको छ ।
‘एक सय ५२ किसानले मेन्थाखेती गरेका छन् भने ५५ किसानले युक्यालिप्टसखेती गरेका छन् । यस्तै पाँचजना किसानले क्यामोमाइलखेती गरेका छन्’, कम्पनीका टीकापुर प्रमुख कमल बेल्वासेले भने, ‘टीकापुरमा जडीबुटी उत्पादन गर्ने अत्याधुनिक उद्योग सञ्चालनमा छ तर यसले पूरा क्षमता उत्पादन गर्न पाएको छैन ।’ उनले जडीबुटी उत्पादनका लागि बीउ स्थानीय सरकारले अनुदान दिने हो भने किसानको आकर्षण अझै बढ्ने बताए ।
‘तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा रु सात हजार प्रतिफल लिन सकिन्छ’, उनले भने, ‘कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ ।’
बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गरे पनि तारबारको अभावमा संरक्षण हुन नसकेको प्रमुख बेल्बासेले बताए । यसरी जडीबुटी उत्पादन गर्नेमा टीकापुर नगरपालिकाका किसान धेरै छन् । किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज भएको स्थानीय किसानको भनाइ छ ।
प्रतिक्रिया