आइतबार, वैशाख २३, २०८१

पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट

नेपालखोज २०८० फागुन २८ गते १५:३१

ढोरपाटन (बागलुङ) । बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका–७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।

पूर्वाधार निर्माण सुरु र प्रचारप्रसार बढेपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकसमेत बढ्दै गएका छन् । नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी काम सुरु भएको वडा नं ७ का अध्यक्ष दीपक कुँवर (दिपु) ले बताए ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको नजिक रहेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् । बुर्तिबाङबाट बसमा एक घण्टा यात्रा गरेपछि नरसिंहकोट पुग्न सकिन्छ । यद्यपि सवारीका लागि सालझण्डी–ढोरपाटन सडकको विकल्प नभएकाले लामो बाटो तय गर्नुपर्ने अवस्था छ । बुर्तिबाङबाट अधिकांश पर्यटक पैदल नै त्यहाँ पुग्ने गरेका छन् ।

नरसिंहकोटबाट १५ देखि २० मिनेटको पैदल दूरीमा रहेको टापुमा पनि पर्यटकको आकर्षण बढेको छ । यस क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाइ छ । उनले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटनपार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माणलगायत काम भएको भन्दै अहिले पनि ती कामलाई पूर्णता दिन थालेको कुँवरको भनाइ छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको रु १० लाख र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु सात लाखले भौतिक संरचना थप्दै गएको उनले बताए । उनले भने, ‘गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ, यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्याएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ, खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ भने अन्य धेरै पूर्वाधार निर्माण भइसकेका छन् ।’

नरसिंहकोटमा दैनिक एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । अझ बिदाका दिन पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउनसक्ने भन्दै सोहीअनुसार बर्सेनि लगानी भइरहेको बताए ।

प्रतिक्रिया