दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरिको प्रयास सराहनीय : दातृ निकाय

नेपालखोज २०८० चैत १ गते ९:२६

काठमाडौं । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् ।

विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै ततअनुरुप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको जनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट), युरोपियन युनियन, विश्व बैंक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घीय कार्यालय (युएन ओपिस) का प्रतिनिधिले नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिका लागि दिगो, समावेशी र उत्थानशील आर्थिक सामाजिक विकासका लागि गरिरहेको प्रयासलाई प्रशंसनीय रहेको जनाउँदै यसलाई निरन्तरता दिन सुझावसमेत दिएका छन् ।

ती निकायका प्रतिनिधिसँग बुधबार भएकोे छलफलमा नगरपालिकाले दिगो विकास लक्ष्य हासिल गर्न आफ्नो नीति योजनामा समावेश गरेका विषयवस्तु र सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुतीकरण गरेको थियो । दिगो विकास लक्ष्यअन्तर्गत ‘सिटी फर वोमेन परियोजना’का लागि चन्द्रागिरि नगरपालिका छनोटसमेत भएको छ ।

छलफलमा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा तयार गरिसकेको, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकता, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले भने, ‘नगरपालिकाले एक वडा एक उद्यान, एकवडा एक खुला स्थानको नीति लिएको छ । समुदाय तहदेखि योजना छनोट र कार्यान्वयनमा लैङ्गिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागिता गराइएको छ ।

प्रतिक्रिया