विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

इलाम । सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुन् ।
‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु’, लिम्बू भने । सोमबार सूर्योदय नगरपालिकाले एक सय छजना किसानलाई ‘मल्चिङ’ प्रविधिका लागि प्लास्टिक र एक सय २९ किसानलाई ‘प्लास्टिक टनेल’ वितरण गरेको छ ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ‘किसानसँग समृद्धि अभियान’ नाराका साथ ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताउनुभएको छ । किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन प्रविधि हस्तान्तरण गरिएको उनले बताए ।
‘चौधवटै वडाबाट प्राप्त अनुदानका आवेदनमा वडाले प्राथमिकता तोकेर पठाएका एक सय २९ जनालाई प्लास्टिक टनेल र एक सय छ जनालाई मल्चिङ प्रविधिका लागि प्लास्टिक वितरण गरेका छौँ, वडाहरूबाट पाँच सयभन्दा बढी किसानका लागि माग भए पनि हाम्रो अहिलेको बजेटले भ्याएअनुसार वितरण गरिएको छ’, संयोजक आचार्यले भने ।
तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न र आर्थिक विकास गर्ने उद्देश्य राखेर किसानलाई प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको आर्थिक विकास समितिका संयोजक आचार्यले बताए ।
प्रतिक्रिया